जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १८:४१

पार्टी पत्रकारको गुट भेला राखेरै प्रचण्ड–माधवले दिए प्रधानमन्त्रीबिरुद्ध मिसन चलाउन यस्तो निर्देशन


काठमाडौं, साउन २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित चार शीर्ष नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभियान छेडन आफू निकट पार्टी पत्रकारलाई प्रशिक्षण दिनुभएको छ । प्रेसिडेन्टियल कलेजमा आज आफू निकट पत्रकारको भेला गरी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीबिरुद्ध मिसन चलाउन प्रशिक्षणसहितको निर्देशन दिनुभएको हो ।

‘भेलामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई इरिटेड बनाउने गरी समाचार लेख्न निर्देशन दिनुभयो, जे गर्दा ओलीलाई इरिटेशन हुन्छ, त्यही गर्ने योजना सिकाउनु भयो,’ सहभागी एक पत्रकारले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्ड र नेपालले अवको मोर्चा प्रचारको भएको भन्दै मिडियाको मोर्चाबाट ‘प्रधानमन्त्रीबिरुद्ध ठोक्न’ खुला निर्देशन दिनुभयो । उनका अनुसार प्रधानमन्त्री ओलीसहित उहाँलाई साथ दिने मन्त्री र स्थायी कमिटीका नेताहरुबिरुद्ध अव फाइट टु फिनिस’ का रुपमा मिडियाबाट प्रहार गर्न भनिएको छ । भेलामा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालसहित तात्कालिन प्रेस सेन्टर नेपालका उपत्यकामा रहेका अधिकांश पदाधिकारी सहभागी थिए भने प्रेस चौतारी नेपालका बरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, सइन्द्र राई, नरेन्द्र साउदसहितका पत्रकार नेताहरु सहभागी थिए ।

पत्रकारलाई ओलीबिरुद्ध लेख्न उक्साउँदै कुर्सी राख्दा आफू अपमानिन भएको घटना सुनाउनु भएको थियो । प्रधानमन्त्री ओलीबिरुद्ध खनिने क्रममा उहाँले पार्टीका अर्का अध्यक्ष ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै आएको गम्भीर आक्षेप लगाउनु भयो भने आफ्नो गुट भेलाको बचाउँ गर्दै लेख्न भन्नुभयो । प्रधानमन्त्रीबिरुद्ध लगातार गुटबन्दी गर्दै आउनुभएका चारै नेताले पार्टीमा बहस भइरहेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, जनताको बहुदलीय जनवादको नारा, दलाल र राष्ट्रवादीको नारा दिएर सडकमा भएको नाराबाजी जस्ता गतिविधि त्यसको प्रमाण भएको दलिल पेश गर्नुभएको थियो । यस्तै प्रचण्डले पार्टी बिभाजनको संकेतसमेत गर्नुभएको छ ।

‘हामीले अहिले पनि एकता अक्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ,’ ओलीबिरुद्ध लाग्न खुल्ला निर्देशन दिँदै पत्रकारको गुटठ भेलामा प्रचण्डको भनाई थियो । भेलामा बरिष्ठ नेता खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले पनि ओलीबिरुद्ध लागेर बिजय हासिल गराउने काम तपाईहरुको भन्दै मिसन चलाउन निर्देशन दिनुभएको छ ।