जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १२:१९

वीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण, पुनः लकडाउन


पर्सा, साउन २२

वीरगञ्जमा थप ४३ जनामा कोराना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको बुधबार राती आएको रिपोर्ट अनुसार पर्साका ४१ जना र बाराका २ जना गरी कुल ४३ जनामा संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायका अनुसार संक्रमितहरुमा ६ जना महिला र ३७ जना पुरुष छन् । त्यसमध्ये एक जना चिकित्सक, एक जना बैंक कर्मचारी, एक जना मिर्गौलाको डायलासिस गरिरहेको बिरामी रहेका छन् । यस्तै १० जना नेपाली सेनाको स्टाफ, २ जना नारायणी अस्पतालकै कार्यालय सहयोगी रहेको समेत डा. उपाध्यायले बताउनुभयो ।

पछिल्लो समय बारा पर्सा लगायतका तराईका जिल्लामा संक्रमणले तिब्रता लिएको छ । ती स्थानमा ठूलो संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमणमा पर्दा स्वास्थ्य सेवा समेत प्रभावित हुने सम्भावना बढेको छ । डा. उपाध्यायले पर्सा लगायतका जिल्लाहरुमा संक्रमण समुदायस्तरमा गएको भन्दै संक्रमणले तिब्रता पाएको बताउनुभयो । संक्रमण बढ्दो देखिएपछि स्थानीय प्रशासनले पर्सामा पुनः लकडाउन गरेको छ ।