जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १३:१२

काठमाडौंका १६ जना कोरोना संक्रमित सम्पर्कमा आउनै चाहेनन्


काठमाडौं, साउन २२

देशको सबैभन्दा शिक्षित वर्ग बस्ने ठाउँ ठानिएको काठमाडौंमा कोरोनाका १६ जना संक्रमित लुकेर बसेको भेटिएको छ । काठमाडौं उपत्यकामा बुधबार बेलुका भेटिएका १०२ जनामध्ये १६ जना कोरोना संक्रमित अझै सम्पर्कमा नआएका हुन् ।

सम्पर्कमा संक्रमित नआउँदा उनिहरुले आफ्नै परिवार वा समाजमा सार्न सक्ने सम्भावना अधिक भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका १६ जना सम्पर्कमा नआएको जानकारी दिनुभयो ।

महाशाखाका अनुसार उनिहरुले स्वाब परीक्षणका लागि संकलन गर्ने क्रममै गलत टेलिफोन नम्बर र ठेगना टिपाएका थिए । ‘कोरोना संक्रमण सम्पर्कमा नआएका १६ संक्रमितमा केहीको उल्लेखित नम्बरै मिलेन भने केहीको अझै पनि फोन उठेन, कति जनाको मोबाइल अफ छ’, कोइरालाले भन्नुभयो ।

बुधबार बेलुकासम्म भेटिएका १०२ संक्रमितमध्ये ५६ जना अस्पतालमा, २० जना होम आइसोलेसनमा राखिएको छ । अन्य १० जना काठमाडौं आवजात गरिरहने हुँदा अहिले गाउँमै रहेको र त्यही उपचाररत रहेको महाशाखाले जानकारी दिएको छ ।