जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १४:५२

गुट भेलाको निर्णयपछि ओलीसँगको संवादबाटै पछि हटे प्रचण्ड : बालुवाटारले गर्यो यस्तो आशंका


काठमाडौं, साउन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको बार्ता पुनः अनिश्चित बनेको छ । पार्टीभित्रको समस्या समाधानका लागि नियमित संवाद भइरहेको बेला अध्यक्ष प्रचण्डले बुधवार आफू निकट पार्टी पत्रकारको गुटभेला गरी बुधवारका लागि तय भएको समयमा नआएपछि संवाद अनिश्चित बनेको हो ।

बुधवार पाँच बजेका लागि दुई अध्यक्षबीच बार्ता तय भएपनि प्रचण्ड बरिष्ठ नेता झनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित आफू निकट पार्टी पत्रकारको गुट भेलामा ब्यस्थ हुनुहुन्थ्यो । सो भेलामा प्रधानमन्त्री ओलीमाथि गम्भीर आक्षेप लगाउँदै प्रधानमन्त्रीबिरुद्ध मिसन चलाउन निर्देशन दिएपछि पुनः असमझदारी बढेको हो । प्रधानमन्त्री ओलीले बुधवारको गुट भेला पार्टी बिभाजनकै पूर्वतयारीका रुपमा बुझ्नुभएको छ । आफूबिरुद्ध मिडियाबाट मिसन चलाउन अध्यक्षदेखि चारै नेताले निर्देशन दिएको अडियो रेकर्ड प्रधानमन्त्री ओलीसमक्ष पुगिसकेको स्रोतले जनताटाइम्सलाई बतायो ।

‘चार नेताले जसरी प्रधानमन्त्रीबिरुद्ध आफ्ना पत्रकारमार्फत चलाइएको मिडियामार्फत प्रहार गर्न निर्देशन दिनुभयो, त्यो रेकर्ड सुनेपछि प्रचण्डसहितका नेताहरु पार्टी एकता होइन, बिभाजनको सुनियोजित तयारीमा रहेको प्रष्टै हुन्छ,’ प्रधानमन्त्री निकट नेकपाका एक नेताले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले यति निकृष्ट काम पनि हुनसक्छ र ? भन्दै आश्चर्य प्रकट गर्नुभएको थियो । आफूहरुले गुट भेलामा दिएको गोप्य निर्देशन प्रधानमन्त्रीसामू पुगेको सूचना पाएपछि आज बिहान तय गरिएको बार्तामा पनि प्रचण्ड अनुपस्थित हुनुभएको छ ।

दुई पटक लगातार नआएपछि प्रधानमन्त्री ओलीले बिभाजनको योजनाअनुसार नै नआएको हुनसक्ने आशंका गरी संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रचण्ड निवास खुमलटार पठाउनु भएको छ । अध्यक्षद्वयको बार्तामा समेत सहभागी हुनुभएका नेता नेम्वाङ आज बिहानका लागि दुई अध्यक्षबीच तय गरिएको वार्ता हुन नसकेपछि खुमलटार पुग्नुभएको हो । दुई अध्यक्षबीचको तिक्तता अन्त्य हुन नसकेपछि नेता नेम्वाङ सकारात्मक वातावरण तयार गर्न प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कुरा गर्न प्रचण्ड निवास पुग्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

अुमलटारमा अध्यक्ष प्रचण्ड र नेम्वाङबीच करिब एक घण्टा छलफल भएको छ । भेटमा दुई अध्यक्षबीचको वार्ता र संवादको निरन्तरताका लागि नेता नेम्वाङ्ले अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको छ । बुधबार गरिएको पत्रकारसँगको अन्तरक्रियाका बारेमा समेत उहाँले अध्यक्ष प्रचण्डसँग चासो राख्नुभएको छ । दुई अध्यक्षबीचको विमति संवाद र वार्ताबाटै समाधान हुने बताउँदै आउनुभएको नेता नेम्वाङले खुमलटार पुगेर त्यही आग्रह दोहोर्याउनुभएको हो ।

पार्टीभित्र विमति रहेको सबैलाई जानकारी भएपनि त्यसको समाधानमा दुई अध्यक्ष नै जिम्मेवार बन्नुपर्ने भनाई उहाँको छ । ‘वार्ता र संवाद नै समस्या समाधानको एकमात्र विकल्प हो, दुई अध्यक्षबीचको वार्ता र संवादको वातावरण विगार्ने भूमिका कसैले खेल्नु हुँदैन,’ नेम्वाङले भन्नुभयो । खुमलटारमा भने उहाँले हिजोको गुट भेलाले पार्टीलाई बिभाजनमै पुर्याउने स्पष्ट मार्ग तय गरेको हो ? भन्ने आशंका राख्नुभएको स्रोतले बतायो । ‘वार्ता भाँड्न र पार्टी एकता नै भत्काउन प्रयास भइरहेको छ । यसले राम्रो गर्दैन,’ प्रचण्डसँग नेम्वाङको भनाई थियो । उहाँले आफ्नो यो भनाई अध्यक्ष ओलीको समेत रहेको पनि प्रष्ट भाषामा भन्नुभएको स्रोतले बतायो ।