जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १५:३९

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव, केही दिन पर्खेर हेर्नुपर्ने


काठमाडौं, साउन २२

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नतिजा प्रकाशन गर्न केही दिन लाग्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिनुभएको छ ।

विद्यार्थीको नाम थर, प्राप्तांक आदि रुजु भइरहेको भन्दै उहाँले नतिजा आएपछि विद्यार्थीको गतिविधि बढ्ने भएकाले केही दिन पर्खेर हेर्नुपर्ने बताउनुभयो । त्यस्तै काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएपछि बोर्डले नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । आजसम्म काठमाडौं उपत्यकामा ७८९ जनामा संक्रमण देखिएको छ ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । देशभरी एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका छन्।