जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार ११:२४

पर्सामा थुनुवासहित १४२ जनामा संक्रमण पुष्टि, २९ जना कन्ट्याक्ट ट्रेसिङमा भेटिए


वीरगन्ज, साउन २३

पर्सामा पछिल्लो पटक थुनुवासहित १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवासहित १४२ जनामा संक्रमण पुष्टि भएको हो ।

वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् । संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो । वीरगन्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् ।