जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १३:०१

टोपबहादुर रायमाझीको निष्कर्ष – ओली पाँच वर्ष प्रधानमन्त्री रहनुपर्छ


अर्घाखाँची, साउन २३

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री रहनुपर्ने बताउनु भएको छ । उहाले सहमति विना ओलीले राजीनामा दिन नहुने स्पष्ट पार्नुभयो ।

अर्घाखाँचीमा भएको कार्यक्रममा नेता रायमाझीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै प्रस्तावमा सचिवालय बैठकले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बनाएकाले सोही अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । ‘आलोपालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्व–सहमतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्छ’, उहाले भन्नुभयो ।

नेता रायमाझीले सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेको समेत टिप्पणी समेत गर्नुभयो । पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको पनि नेता रायमाझीको भनाइ छ । उहाले पार्टी भित्र देखिएको विवाद पदकै लागि भएको निष्कर्ष समेत सुनाउनु भयो । ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत बनेका नेताहरुलाई कुन पदमा राख्ने भन्ने नै पार्टीमा देखिएको अन्तरविरोधको प्रमुख कारण हो’, उहाको भनाई थियो ।