जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १७:४२

भूमाफियासँग मिलेर वडाअध्यक्षले दिए ज्यान मार्ने धम्की


मोरङ, साउन २३

मोरङको सुन्दरहरैचा नगरपालिका–८ का अध्यक्ष खेम न्यौपानेले भूमाफियासँग मिलेर आफूले माग गरेको जग्गा नबेचे मारिदिने धम्की दिएका छन्। जनप्रतिनिधिले सर्वसाधारणलाई कार्यालयमै बोलाएर आफ्नो जग्गा नबेचे हात खुट्टा भाँचिदिने तथा मारेर फालिदिने धम्की दिएका हुन्। जग्गाधनी ईश्वरमणि निरौलाले इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा वडा अध्यक्षसहित भूमाफियाले जग्गा बेच्न धम्की दिएको भन्दै सुरक्षाका लागि निवेदन दिएपछि जनप्रतिनिधिको धम्कीबारे बाहिर खुलासा भएको हो।

निवेदक निरौलाले आफ्नो १ कठ्ठा सवा १२ धूर जग्गाको लागि वडा अध्यक्ष र भूमाफियाबाट बारम्बार जग्गा बेच्न दबाब आउने गरेको उजुरी दिनुभएको हो । ‘मेरो जग्गा बेच्दिनभन्दा पनि बारम्बार धम्की दिने गरेका छन्’, निरौलाले भन्नुभयो, ‘वडा अध्यक्षले वडा कार्यालयमै बुबालाई बोलाएर छोरालाई जग्गा बेच्न भन नभए मारेर फालिदिन्छु भन्दै धम्की दिएका छन्।’

उहाँले वडा अध्यक्ष खेम न्यौपानेसहित भूमाफिया निराजन बस्नेत, अशोक पौडेल, सुवास कार्की, बाबुराम भट्टराइ, सन्तोष पोखरेलविरुद्ध उजुरी दिनुभएको छ । निरौलाले आफू र आफ्नो परिवार अन्याय र त्रासमा परेको भन्दै जिउधन सुरक्षा गरिपाऊँ भन्दै प्रहरीमा साउन २३ गते निवेदन दिनुभएको हो । ‘वडा अध्यक्ष खेम न्यौपानेले आफ्नो अगुवाइमा निरौलाका बाबुलाई वडा कार्यलयमा बोलाई छोराले जग्गा नबेचे हात खुट्टा भाँचिदिने तथा मारेर फालिदिने धम्की दिएको’ निवेदनमा उल्लेख छ।

वडा अध्यक्ष खेम न्यौपानेले भने वडामा उजुरी परेकाले आफूले मिलाउनको लागि दुवै पक्षलाई बोलाएको दाबी गर्नुभएको छ । ‘निराजन बस्नेतले वडा कार्यालयमा ईश्वरमणिको नाममा भएको जग्गा रोक्का गरी हाम्रो जग्गा फिर्ता गरिपाऊँ भन्ने उजुरी परेको छ’, अक्ष्यक्ष न्यौपानेले भन्नुभयो, ‘मैले सुल्झाउन खोजेको हुँ धम्की दिएको छैन। मैले नसकेपछि नगर उपप्रमुखकहाँ गएर मिलाउन भनेको छु।’