जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार ०६:३९

आर्थिक समानतासहितको समतामुलक समाज निर्माण गर्न सरकार निष्ठापुर्वक सक्रिय रहेको छ : प्रधानमन्त्री


काठमाडौं, साउन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समानतासहितको समतामुलक समाज निर्माण गर्न सरकार निष्ठापुर्वक सक्रिय रहेको प्रष्ट पार्नुभएको छ । २६औं विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको उल्लेख गर्नुभएको छ । सरकारको यस उद्देश्यलाई सफल पार्न प्रधानमन्त्री ओलीले आ–आफ्नो ठाउँबाट सक्रिय रहन सबैमा हार्दिक आह्वानसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको पनि बताउनुभएको छ । दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गर्नुभएको छ ।

उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सरकारले तय गरेका उल्लेख गर्दै यस्तो बेला विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाललगायत विश्वमै स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको बताउनुभएको छ ।

“विश्वसामु खडा भएको यस चुनौतीलाई सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको छ ।”