जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार १४:२३

सिराहामा छ्याप्छ्याप्ती अवैध औषधी पसल


सिरहा, जेठ १२

औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् । जिल्लाको दक्षिणी तथा पश्चिमी क्षेत्रमा दिनानुदिन च्याउ उम्रिए झैँ निजी क्लिनिक तथा औषधि पसल खोलिँदै आएपछि यहाँका ग्रामीण क्षेत्रका बासिन्दा ठगिएका छन् ।

जिल्लाका धेरैजसो क्षेत्रमा अनधिकृत रूपमा क्लिनिक तथा औषधि पसल खुल्लमखुल्ला सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन, जिल्ला बजार अनुगमन समिति र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरेपछि अवैध औषधि पसल खुल्ने क्रम रोकिएको छैन । जिल्लामा कतिवटा अवैध औषधि पसल छन् यसको तथ्याङ्क कसैसँग छैन । बजार अनुगमन गर्न आफूसंँग स्रोत र साधनको अभाव भएकाले समस्या परेको औषधि व्यवस्थापन कार्यालय सिरहाले जनाएको छ ।

सदरमुकाम सिरहा र शहरी क्षेत्रमा मात्रै नभई अहिले गाउँगाउँमा समेत यस्ता औषधि पसल खुल्दै गएकाले औषधिको जथाभावी व्यापार बढेको हो । ग्रामीण क्षेत्रका उपभोक्ताले रोग बताएको भरमा पसलबाट औषधि लगेर जोखिम मोलिरहेका छन् भने कतिपय औषधि पसलले सामान्य अनुभवकै भरमा बिक्री गर्ने गरेका छन् ।

कतिपय औषधि व्यापारीले विभिन्न अस्पतालका चिकित्सकको नाम झुण्ड्याएर आफैले स्वास्थ्य जाँच गर्ने गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको कुशहाका स्थानीयवासी सत्यनारायण चौधरीले बताउनुभयो । नियमानुसार औषधि पसल राख्न कम्तीमा तीन वर्षे फार्मेसी तहको अध्ययन पास गर्नुपर्ने भए पनि यहाँका तीन दर्जन यस्ता पसलेले सामान्य अनुभव बटुलेकै भरमा औषधिको व्यापार गरेका छन् ।