जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १३:१२

गोंगबुमा विभत्स हत्या गरिएको शव कसको ?


काठमाडौं, साउन २५

गोङ्गबुमा टाउको र शरिरको भाग अलग अलग ब्यागमा राखेको अवस्थामा शव फेला परेको छ । सुटकेशमा टाउको र खुट्टा अलग गरिएको शव आज विहान प्रहरीले फेला परेको हो ।

गोङ्गबु चोकको गणेश मन्दिरबाट बानियाँटार जाने बाटोतर्फ दुई सय मिटरको दूरीमा कालो सुटकेशमा टाउको र खुट्टा नभएका शव फेला परेको र सोही स्थानभन्दा करिब तीन सय मिटरको दूरीमा रहेको फोहोर फाल्ने खोल्सामा टाउको र दुई वटा खुट्टा राखेको झोला फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी दीपक थापाले बताउनुभयो ।

स्थानीय धीरेन्द्र चौधरीले सुटकेश देखेको र त्यसबाट गन्धसमेत आएकाले शङ्का लागेर प्रहरीलाई खबर गर्नुभएको थियो । शव हेर्दा अन्दाजी ४४ वर्षीय पुरुषको हुनसक्ने प्रहरीले जनाएको छ । शव कसको हो र कसले हत्या गरेर फालेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुटकेश र जेब्रा झोला राखिएको ठाउँ सिसिटिभीको फ्रेमभन्दा बाहिर रहेको पाइएको छ। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ।