जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १३:४३

किरण गुरुङको बटमलाइन : नेतृत्व निर्माण र परिवर्तनको अधिकार महाधिवेशनलाई मात्र हुन्छ


काठमाडौं, साउन २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता किरण गुरुङले बिधि र पद्धतीको नाममा पार्टीभित्र बबण्डर नमच्चाउन चेतावनी दिनुभएको छ ।

नेकपाभित्रको जारी बिवादमा आफ्नो धारणा राख्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहनुभएका नेकपा स्थायी कमिटी सदस्य गुरुङले विधि र विधान पढन पनि सवैलाई सुझाव दिनुभएको छ । ‘नेतृत्व निर्माण र परिवर्तनको अधिकार महाधिवेशनलाई मात्र हुन्छ,’ गुरुङले भन्नुभयो ।

यस्तो छ गुरुङको अडान

विधि र विधान सबैले पढ्नु पर्यो । हावामा भन्नुभएन हजुर ! नेतृत्व निर्माण र परिवर्तन गर्ने अधिकार महाधिवेशनलाई मात्र हुन्छ । निरन्तर खुलेआम गुटको भेला कुन विधि र विधानमा हुन्छ ? भन्नू पर्यो हजुर । तब सबैको चित्त बुझ्छ । आवधिक निर्वाचन प्रणालीअनुसार ५ वर्षको निम्ति निर्वाचित सरकार हो, जुगै भरिलाई हो भने जसरी रोइलो मच्चाइ रहनु पर्दैन । यो लोकतान्त्रिक व्यवस्था हो, निरंकुश व्यवस्था होइन । लोकतन्त्रमा ५ वर्षको कार्यकालसम्म कुर्ने धैर्यता हुनुपर्छ र आउने निर्वाचनमा पराजीत गरी आफ्नो नेतृत्वमा सरकार बनाउन सक्ने लोकतान्त्रिक व्यवस्था संविधानले गरेकै छ । निर्वाचन र महाधिवेशनबाट भाग्ने कुरा यहाँ कसैले गरेको छैन ।

अर्को कुरा, यो कसैको कठपुतली सरकार होइन, जसले भने जस्तो भएन भने राजीनामा माग्ने र सरकारले राजीनामा दिनुपर्ने । यो भएन र त्यो भएन भनी आरोप लगाउनु र भ्रम छर्नुभन्दा राम्रो क्षमताअनुसार आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी के हो ? बुझेर पूरा गर्नु हो । कसैले पनि पार्टी विभाजनलाई मलजल नगरौं ।