जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १८:५५

भारतलाई नेपालको कडा जवाफ : बुद्ध नेपालमा जन्मेका हुन, यो विवादको विषय नै होइन


काठमाडौं, साउन २५

सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहसरविवाद नरहेको प्रष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भनेपछि परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक भएको हो ।

सञ्चारकर्मीको प्रश्नमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभएको छ, ‘यो ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा पूर्णरुपमा स्थापित र अकाट्य तथ्य हो कि भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको थियो । बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाललाई बुद्धको जन्मस्थलका रुपमा स्वीकारेको उहाँले बताउनुभयो । ‘सन् २०१४ को नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्बोधन गर्दै उहाँले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताउनुभएको थियो,’ पौडेलले भन्नुभएको छ ।

नेपालबाट विश्वका अन्य भागहरुमा बुद्ध धर्मको फैलावट भएको उहाँले बताउनुभएको छ । यसमा कुनै आशंका वा विवाद नभएको भन्दै यसलाई बहसको विषय बनाउन नसकिने प्रष्ट पार्नुभएको हो ।