काठमाडौं, साउन २६ । विकासको नयाँ युगमा प्रवेश गरेको नेपालले अब अन्तरराष्ट्रिय मूल्य र मान्यतामा रहेर सुरुङमार्ग निर्माण अघि बढाउने भएको छ । एकपछि अर्को गर्दै सुरुङमार्ग निर्माणमा अगाडि बढिरहेको सरकारले आफ्नै मार्गदर्शनसमेत तयार पारेको छ ।
हचुवाका भरमा निर्णय गर्दा ठूलो धनराशि खर्च हुने सुरुङमार्गलाई थप व्यवस्थित, प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले बिज्ञहरुको सुझावका आधारमा मापदण्ड स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्को साउन १९ गते बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त मागदण्ड स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । मन्त्री खतिवडाले सुरुङमार्ग निर्माणलाई थप व्यवस्थित, प्रभावकारी तथा लागतमैत्री बनाउने ध्येयका साथ मापदण्ड स्वीकृत गरिएको जानकारी पनि दिनुभयो । नेपालमा निर्माण भएका धेरैजसो जलविद्युत् आयोजनामा सुरुङ निर्माण भएका छन् । ती सुरुङ विशेषगरी ‘ड्रिलिङ एण्ड ब्लास्ट’ विधिबाट निर्माण भएका हुन ।
यस्तै काठमाडौं उपत्यकामा खानेपानी ल्याउने महत्वपूर्ण आयोजनाका रुपमा रहेको मेलम्चीको झण्डै २७ किलोमिटर लामो सुरुङसमेत सोही विधिबाट निर्माण भएको छ । यस्तै माथिल्लो तामाकोशी जलविद्युत आयोजनादेखि भारतीय लगानीको अरुण तेस्रो जलविद्युत् आयोजनामा समेत सुरुङ निर्माण गरिएको छ । ती सुरुङमा पानी मात्रै पठाइने भएकाले अब निर्माण हुने सुरुङ अन्तरराष्ट्रिय मापदण्डको हुनुपर्ने आवश्यकता देखिएको सरकारको निश्कर्ष छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई मधेश द्रुर्तमार्गमा समेत तीन वटा सुरुङ निर्माण हुनेछन । मन्त्री डा खतिवडाका अनुसार मुलुक सुरुङमार्ग निर्माणको चरणमा प्रवेश गरेकाले पनि नेपालले आफ्नै मापदण्ड तयार गरेको हो । ‘नेपालको आफ्नै मापदण्ड थिएन । लागत अनुमान गर्नसमेत सहज होस भनेर मापदण्ड तयार पारिएको हो,’ सरकारका प्रवक्ता खतिवडाले भन्नुभयो । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागको गुणस्तर विकास तथा अनुसन्धान केन्द्रले सुरुङमार्गसम्बन्धी आवश्यक मापदण्ड तयार पारेको छ । त्यसमा ‘स्पेसिफिकेसन’ समेत तोकिएको छ । यसअघि जलविद्युत् तथा खानेपानी आयोजनामा मात्रै सुरुङ निर्माण भएका थिए । आयोजनाको आवश्यकताका आधारमा मात्रै सुरुङ निर्माण हुने गरेका थिए ।
सरकारले नागढुङ्गामा सुरुङमार्ग निर्माण शुरु गरिसकेको छ । यस्तै, बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा समेत निकट भविश्यमा नै सुरुङमार्ग निर्माण हुँँदैछ । यसैगरी टोखा–छहरे सुरुङमार्गसमेत निर्माणको प्रक्रियामा छ । सडक विभागले देशका विभिन्न छ स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारी थालेको छ । त्यही भएर पनि मापदण्ड तयार पारिएको सरकारको भनाइ छ । नागढुङ्गा सुरुङमार्गको काम शुरु नै भइसकेको अवस्थालाई मध्यनजर गरेर सरकारले आफ्नो मापदण्डको आवश्यकता महसुस गरेको हो । बिज्ञहरुका अनुसार सुरुङमार्ग निर्माणका लागि एउटा परिणाम र अर्को दर चाहिने भएकाले मापदण्ड तय गरिएको हो । के कति मात्रामा निर्माण सामग्री लाग्छ, जनशक्ति के कति परिचालन गर्नुपर्छ, निर्माणको विधि के कस्ता हुने भन्ने विषयलाई समेत सम्बोधन गर्नुपर्ने हुन्छ ।
यस्तै सुरुङ निर्माण हुने भूमि तथा प्रकृतिलाई समेत सूक्ष्म विश्लेषण गर्नु आवश्यक पर्दछ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सन्दर्भमा समेत सुरुङ निर्माणसम्बन्धी मापदण्ड तय गरेको छ । तराई–मधेशका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सो आयोजना अगाडि बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो आयोजना निर्माणको चरणमा प्रवेश गर्न लागेको जनाएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिइसकेको छ । यस्तै आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरणको कामसमेत भइरहेको छ । अर्थमन्त्री खतिवडाले सो आयोजनाका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी दिनुभएको छ ।
विद्युत गृहसहितका संरचना निर्माणका लागि आवश्यक जग्गाप्राप्तिको काम सम्पन्न भएको छ । यस्तै सुरुङ निर्माणका लागि लागत अनुमान तथा खरिद कागजात तयार भएको छ । बाँध, विद्युत् गृहलगायत संरचनाको विस्तृत डिजाइनको काम जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिकाशमा हरेक दिन एक कदम अगाडि बढने भन्दै समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सार्नुभएअनुरुप सरकार योजनावछ बिकास अघि बढाउने क्रममा सुरुङमार्ग निर्माणसम्बन्धी मापदण्ड तयार पारिएको हो ।
प्रतिक्रिया दिनुहोस्