जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार १०:४२

प्रधानमन्त्रीबिरुद्ध जनता समाजवादीको आक्षेपप्रति कडा आपत्ति : प्रेस सल्लाहकार थापाले दिए यस्तो चेतावनी


काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा जनता समाजवादी पार्टीले प्रयोश गरेको भाषालाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कडा आपत्ति जनाउनु भएको छ । जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको भन्दै थापाले आपत्ति जनाउनु भएको हो ।

थापाले आज बिज्ञप्ती जारी गरी सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको केपी ‘…ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको…’ भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको बताउनु भएको छ ।

यस्तो छ प्रेस सल्लाहकार थापाको बिज्ञप्ती

‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘…केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको…’ भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ । पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।

राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला । सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् । जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन । आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।

शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ । जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ । राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन् । तसर्थ : जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
२७ साउन २०७७