जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार १०:५८

गोगंबु हत्याकाण्ड : हत्या आरोपीको बयान सुनेर प्रहरी नै चकित


काठमाडौं, साउन २६

गोंगबुमा विभत्स हत्या गरिएका कृष्णबहादुर बोहराको केसमा प्रहरीले निक्कै चाडै सफलता प्राप्त गरेको छ । घटनामा शवको पहिचान भएको केही घण्टामा प्रहरीले हत्यामा संलग्न आशंकामा एक महिलालाई चितवनबाट पक्राउ गर्न सफल भयो ।

अनुसन्धानपछि ति महिला नै हत्यामा संलग्न रहेको खुल्यो । उनि थिइन्, कल्पना शाही बताउने कल्पना मुडवरी । उनिहरुको भेटवार्ता फेसबुकबाट देखिएको छ । तर, ति कल्पनाले मृतक बोहरासँग कमला पौडेलको नामबाट कुरा गर्ने गरेको खुलेको छ ।

बलात्कारको प्रयासपछि हत्या !

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ प्रहरीसमक्ष स्विकार गरिसकेकी छन् । उनले प्रहरीसँग हत्या गर्न कसैको सहयोग नलिएको तर शव व्यवस्थापनमा १६ वर्षिय छोरीले सहयोग गरेको भने खुलेको छ ।

‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ,’ हत्या अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने– ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’

बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ । कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको पनि अनुसन्धानबाट खुलेको छ ।

कल्पनालाई लिन भिनाजु एम्बुलेन्स लिएर पुगेका थिए गोंगबु

हत्या गरेपश्चात कल्पना शाहीले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ । ३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको प्राविधिक अनुसन्धानमा खुलेको छ ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् । कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन् । कल्पनालाई चितवनबाटै पक्राउ गरेर काठमाडौं ल्याइएको छ । प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।