जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार १२:४९

काठमाडौं प्रवेश गर्न पास भएकाहरुलाई पनि नदिने तयारी


काठमाडौं, साउन २७

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि यहाँका स्थानिय निकायहरुले थप कडाइ गर्ने भएका छन् । मुख्यतः काठमाडौं प्रवेश गर्ने नाकाहरुमा थप कडाइ गर्ने तयारी गरिएको छ । एम्बुलेन्स, शवबाहन तथा अत्यावश्यक सेवाबाहेकका कुनै पनि सवारी तथा व्यक्तिलाई प्रवेश नाकामा प्रवेश गर्न नदिने विषयमा स्थानिय निकायले छलफल सुरु गरेका छन् । उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकमा यस विषयमा छलफल भएको र यसको तयारी तथा व्यवस्थापनका लागि स्थानिय निकायहरु गृहकार्यमा जुटेका छन् ।

अत्यावश्यक कामका लागि भन्दा अन्य प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिई उपत्यका भित्रने क्रम बढेकाले अब प्रशासनबाट दिइने पासमा समेत रोक लगाउने गरि नाका प्रवेशमा कडाइ गर्ने तयारी भएको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले जानकारी दिनुभएको छ । अत्यावश्यक बाहेक अन्यलाई प्रवेशमा कडाइ गर्ने तयारी उपत्यकाका स्थानिय निकायहरुले गरेको जानकारी दिदै उहाँले पैदलयात्रीलाई समेत आउन नदिनेतर्फ छलफल अघि बढाइएको बताउनुभयो ।

अहिले दिनहुँ १ हजार जनाले पास लिएर उपत्यका प्रवेश गरिरहेको तथ्यांक छ, एउटा गाडीको पास लिएर सो सवारीमा ६–७ जना आउनुहुन्छ,कोरोना गाडीमा आउने होइननी गाडीमा आउनेबाट पो भित्रने हो त्यसैले अब पास लिएर आउने प्रवृतिलाई रोक्न जरुरी छ, मेयर गिरीले भन्नुभयो, यसका लागि प्रस्थानविन्दुका स्थानिय निकायहरुसँग समन्वय गरि कडाइ गरिने निर्णय भएको छ ।