जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार ०९:३४

पाल्पा र डोटीमा सडक दुर्घटना ५ जनाको मृत्यु : ३२ जना घाइते


 

डोटी , २८ साउन । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।” बस सडकबाट ३० मिटर तल खसेको थियो ।

वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।यसैवीच पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ। जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मंगलबार राति दुर्घटना भएको जीपमा १० जना सवार थिए। घाइतेलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ। दुर्घटनापछि जीप चालक फरार भएका छन्।