जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार ११:०२

नेपाल–भारतबीच छलफलको तयारी : सचिवस्तरीय वार्ता भदौमा


काठमाडौं, साउन २८

नेपाल र भारतबीच उत्पन्न सीमा विवादका कारण लामो समयदेखि कायम कुटनीतिक शुन्याता तोडदै अर्को साता दुई देशबीच कुटनीतिक वार्ताको तयारी भएको छ ।

नेपाल–भारत निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम)को आठौं बैठक १ भदौमा काठमाडौंमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पनि दुई देशका परराष्ट्र सचिवस्तरीय वार्ताका लागि कुराकानी भईरहेको बताउनुभयो ।

उहाँले दुई देशबीचको ओभर साइट प्रोजेक्टहरुको बारेमा सचिवस्तरमा हुनु पर्ने बैठकका लागि कुराकानी भई रहेको र कहिले र कुन मोडलमा हुने भने तय नभएको बताउनुभयो । भारतीय समाचार संस्था इण्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा अर्को हप्ता वार्ताका लागि दुबै पक्षले तयारी गरेको समाचार राखेको छ । भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाका बारेमा सो बैठकमा छलफल हुने छ ।

संयन्त्रको सातौं बैठक यसअघि सन् २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो । यो संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गर्दा गठन गरिएको थियो । द्विपक्षीय परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर संयन्त्र गठन गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नेपालको नयाँ नक्शा जारी भएपछि नेपाल र भारतबीच कुनै पनि स्तरमा सम्वाद हुन सकेको थिएन । भारतले कोरोनालाई कारण देखाउँदै नेपालसँग सीमा विवाद सुल्झाउन वार्तामा बस्न मानेको छैन ।