काठमाडौं, साउन २८ । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जम्मा भएको ३ करोड ४६ लाख रुपैयाँ रकमको चेक नेपाल सरकारको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोष हस्तान्तरण गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारी र प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।
बैँकले हरेक वर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन र मौद्रिक नीति, २०७७÷०७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा उक्त रकम हस्तान्तरण गरिएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्त्री डा खतिवडाले कोरोना रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा बैंकले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । बैँकका अध्यक्ष अधिकारीले सरकारले चालेका कदममा बैंकको सदैव साथ रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्