जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार २२:२७

प्रधानमन्त्री ओलीको सार्वजनिक घोषणा : पार्टी फुटदैन, कसैले फुटाउन पनि सक्दैन (भिडियोसहित)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र देखिएको पछिल्लो बिवाद चाँडै समाधान हुने जनाउसहित पार्टी बिभाजन कसैले गर्नै नसक्ने घोषणा गर्नुभएको छ । एपिवान टेलिभिजनमा बरिष्ठ पत्रकार भुषण दाहालले सञ्चालन गर्नुभएको द ब्राभो डेल्टा नामक कार्यक्रममा दिनुभएको अन्तवार्तामा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलेयस्तो घोषणा गर्नुभएको हो ।

‘पार्टीभित्रको समस्या कुनै ठूलो समस्या होइन, यसलाई हामीले समाधान गर्न सक्छौं, गर्नुपर्छ, देश र जनताको भावनाअनुसार समाधान दिनुपर्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, मेरो सम्पुर्ण प्रयाश पार्टी मिलाउने, एकतावद्ध राख्ने,फुट हुन नदिनेतिर नै छ । तपाईलाई ढुक्कका साथ भन्छु, हाम्रो पार्टी फुटदैन, पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन ।’ उहाँले पाँच दिनभित्र नेकपाको बिवाद समाधान हुने ठोकुवा पनि गर्नुभयो । ‘आजैबाट काउन्ट डाउन सुरु गर्नाेस, पाँच दिनभित्र यस बिषयमा फेरि प्रश्न सोध्नुभए हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको बेला आधार आधा समय सरकार सञ्चालनको सहमति भएको भएपनि अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नै स्थिरताका लागि पाँच बर्ष आफू प्रधानमन्त्री रहनु पर्ने प्रस्ताव गरी निर्णय भएको तर आफूले थप समय नमागेको बताउनुभयो । ‘मबाट बाचा बन्धन तोडिदैन, मलाई आफ्ना शब्दहरुबाट फिर्ता हुन आउँदैन । मेरो कठिनाई त्यो छ । मेरो तपाईसँग गरेको प्रतिवद्धताहरु छन भने म त्यसबाट पछाडि फर्किन्न, नाफा नोक्सान जे सुकै होस पछाडि फर्किन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले आफ्नो केही चाहना भने साथीहरुकै कारण पूरा नभएको खुलासा गर्नुभयो । उहाँका अनुसार ६५ बर्षमा पार्टीबाट अवकाश लिने आफ्नो योजनालाई साथीहरुले नमान्दा पूरा हुन सकेन । ‘मेरा इच्छाहरु कहिले कहिले परिस्थितिले पूरा हुन दिन्न, म ६५ बर्षमा पार्टीबाट अवकाश लिन्छु भनेको थिए, साँथीहरुले मान्नुभएन, मान्दिन भन्नुभयो । चार बर्ष अगाडिको कुरा हो यो, म पार्टी अध्यक्ष भइसकेको थिए, बीचैमा छाडेर हिडनु भएन, महाधिवेशनसम्म लैजानै पर्ने भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।