जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १६:०८

सकियो ओली-प्रचण्ड बार्ता : फेला पर्यो सहमतिको सूत्र


काठमाडौं, साउन २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल,प्रचण्डबीचको छलफल सकिएको छ । बार्ता चलिएरहेको बेला अध्यक्ष प्रचण्डसहित सचिवालयका चार नेताले पार्टी पत्रकारको गुट भेला गरी बिभाजनका लागि तयार रहन निर्देशन दिएपछि बिथोलिएको अध्यक्षद्वयबीचको बार्ता ९ दिनपछि आज पुनः सुरु भएको हो ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र नेकपाको बिवाद समाधान हुने घोषणा गर्नुभएको भोलिपल्ट आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच चारघण्टा लामो बार्ता भएको हो । बार्तामा दुवै अध्यक्षले आफूहरुबीचको सहमतिकै आधारमा एकता महाधिवेशनसम्म जाने गरी आवश्यक खाका तयार पार्ने काम भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डले आजएक अर्काप्रति लागेको आशंकाको बिषयमा पनि खुलेर छलफल गर्दै सहमतिको ठोश मुद्दामा केन्द्रित रहनुभएको स्रोतले बतायो ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच साउन २० गते यता आज पहिलो पटक संवाद भएको हो । यसबीचमा अनौपचारिक छलफल भने चलिरहेको थियो । यसअघि साउन १८, १९ र २० गत् बरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो । तर बार्ता चलिरहेकै बेला पत्रकार भेला गरेर बिभाजनका लागि तयार रहन भन्दै प्रधानमन्त्री ओलीबिरुद्ध जाइलाग्न निर्देशन दिएपछि वातावरण बिथोलिएको थियो । दुई अध्यक्षबीच बिवाद बढेपछि सहमतिका लागि दुवैतर्फका एकता पक्षधर नेताहरुले पहलकमदी लिनुभएको थियो ।

दुई अध्यक्षबीच महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेल रर जनार्दन शर्माले सहमतिका लागि गृहकार्य गर्नुभएको हो । नेताहरुको गृहकार्य र दुई अध्यक्षबीचको टेलिफोन संवादपछि आज भएको बार्ता सकारात्मक रहेको खुमलटार र बालुवाटार स्रोतले जनाएको छ ।

आजको छलफलमा सहमतिका चार बिकल्पमा छलफल भएको र भोलि शुक्रवार पुनः छलफल गरी सहमतिको प्याकेजसहित सचिवालय बैठक बसेर स्थायी समितिमा प्रस्तावका रुपमा लैजाने बिषयको टुंगो लाग्ने स्रोेतले जनाएको छ । आजको छलफलमा महाधिवेशनसम्म दुवै अध्यक्ष रहने गरी उपाध्यक्ष बामदेव गौतमले साउन १३ गते राख्नुभएको ६ बुँदे सहमतिको प्रस्तावकै आधारमा अघि बढने गरी निश्कर्ष उन्मुख पुगेको बताइएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलपछि दुवै पक्षले सहमतिको सूत्र फेला परेको जनताटाइम्सलाई जानकारी दिएका छन । ‘निकै गम्भीर छलफल भयो, आशंका मेटाउने काम हुँदै सहमतिको सूत्र फेला पार्ने काम आजको बार्ताले गरेको छ, नतिजा आएपछि सवै कुरा थाह हुन्छ,’ खुमलटार र बालुवाटार स्रोतले भन्यो ।