जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार ०६:५२

बारामा थप २ जनाको कोरोनाबाट मृत्यु


बारा, साउन ३० । बारामा बिहीबार कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । दम, मधुमेह र उच्च रक्तचापका रोगी दुई जना वृद्धको सङ्क्रमणबाट मृत्यु भएको हो ।

प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय र जितपुर सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । प्रसौनीका ६५ वर्षीय पुरुष प्रसौनी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

दम रोगी ती पुरुषलाई ज्वरो आएर श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार नारायणी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचार हुँदै आएकोमा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि नारायणी अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा दुवै जनामा कोरोना सङ्क्रमण देखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।