जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार २१:४८

भारतका क्रिकेटर धोनी र रैनाले सँगै गरे संन्यासको घोषणा


काठमाडौं, साउन ३१

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले संन्यास लिए लगत्तै अर्का ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

३९ वर्षीय धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै आफूले संन्यास लिने निर्णय गरेको बताएका हुन् । यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका विकेटकिपर ब्याट्सम्यान धोनीले अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछैनन् ।

धोनीले आइपिएल भने खेल्नेछन् । चेन्नइ सुपरकिंग्सका कप्तान धोनी पछिल्लो समय आइपिएलको तयारीमा छन् । धोनीले भारतलाई एकदिवसीय र टी–२० विश्वकप क्रिकेट दिलाएका थिए । रैनाले धोनीसँगै खेल्न पाएको क्षण उत्कृष्ट र गर्व गर्नलायक भएको बताउँदै आफूले पनि धोनीको पथ पछ्याउने इन्स्टाग्राममा पोस्ट गरेका हुन् । रैना सन् २०१८ देखि भारतीय टिममा छैनन् ।