काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षदेवय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले पार्टीभित्र देखापरेको विवाद सल्टाउन गठन गरेको कार्यदललाई लिएर बरिष्ठ नेता माधवकुमार नेपालसहित सचिवालयका तीन नेताले आपत्ति जनाउनु भएको छ । कार्यदलको वैधानिक हैसियतलाई लिएर नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रश्नसहित आपत्ति जनाउनु भएको हो । नेताहरुले अध्यक्ष ओलीसँग गरिएको सहमति ताडेर सचिवालय बैठकबाट निर्णय लिन पनि दवाव दिनुभएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा असहमति नरहे पनि यसको गठन प्रक्रिया अवैधानिक भएको भन्दै दुई अध्यक्षको निर्णयलाई चुनौती दिनुभएको हो । तर अध्यक्ष प्रचण्डले दुई अध्यक्ष संस्था हो भन्ने तथ्य बुझन सुभवा दिनुभएको छ । तीन नेताले शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेटेरै बैधानिकतामाथि प्रश्न् उठाउनु भएको थियो। दुई अध्यक्षको सहमतिमा मात्र कार्यदल गठन गरेर काम गर्नु वैधानिक नहुने र भोलि कार्यदलले बुझाएको रिपोर्टमा कुनै नेताले नमान्ने अवस्था आए त्यसले मान्यता नपाउने उहाँहरुको तर्क रहेको खुमलटारस्रोतले जनताटाइम्सलाई बतायो । तीनै जनाले दुई अध्यक्षले गर्ने निर्णय बैधानिक नहुने अडान राख्नुभएको छ । पार्टी कमिटीको बैठक राखेर यस विषयमा निर्णय लिनुपर्नेमा त्यसो नगरिएकाले प्रक्रियागत रुपमा त्रुटि रहेको नेपाल, खनाल र श्रेष्ठको अडान रहेको छ ।
तीनै नेताले तत्काल सचिवालय बैठक बोलाएर कार्यदल गठनको औपचारिक निर्णय लिनुपर्ने सुझाव प्रचण्डलाई दिएका छन्। कार्यदल गठन दुई अध्यक्षको मात्र सहमतिमा गरिनु आफैंले उठाउँदै आएको विधि/पद्धतिलाई खण्डित गर्ने काम भएको नेपाल, खनाल र श्रेष्ठको भनाइ थियो । उहाँहरूले सचिवालय बैठकबाट कार्यदल गठन गरेको भए प्रक्रियागत रुपमा मिल्ने धारणा राख्नुभएको थियो । ‘सचिवालयमा छलफल गरेर निश्चित कार्यादेश दिएर कार्यदल गठन गरेको भए हुन्थ्यो। त्यो प्रक्रियागत रुपमा मिलेन’, अध्यक्ष प्रचण्डसँग नेताहरूको भनाई थियो ।
‘पार्टी कमिटीको बैठक चलिरहेका बेला कार्यदलको आवश्यकता किन पर्यो ? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल गरेर बनाउन सकिन्थ्यो। कार्यदल नै बनाउँदा पनि दुई अध्यक्षले मात्र सहमतिमा बनाउनुभन्दा सचिवालय बैठक राखेर प्रस्ट कार्यादेशसहित बनाएको भए राम्रो हुन्थ्यो। तर, त्यसो किन हुन सकेन ? यसले हामी आफैले उठाएको विधि र संस्थागत निर्णयको कुरालाई खण्डित गर्ने काम गर्यो’, प्रचण्डसँग तीनै जना नेताको आक्रोश उधृत गर्दै स्रोतले भन्यो ।
वरिष्ठ नेता खनालका अनुसार कार्यदल कमिटीले बनाउनुपर्नेमा दुई अध्यक्षको मात्र सहमतिमा बनाएकाले प्रक्रियागत रुपमा नमिलेकाले वैधानिकतामा प्रश्न उठेको बताउनु भयो । ‘कुनै पनि कार्यदल पार्टीका कमिटीले बनाउने हो। त्यो पनि कार्यदललाई दिने कार्यादेशसहित बनाएर गठन गर्नुपर्ने हुन्छ। तर, कार्यदल बनाउँदा त्यसो गरिएको पाइएन। यस विषयमा पार्टीबाट निर्णय लिन पार्टी सचिवालय बैठक बोलाउन हामीले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छौं’, भेटबारे वरिष्ठ नेता खनालले भन्नुभयो ।
नेकपाभित्र झन्डै ४६ दिन लामो विवादलाई नयाँ रुप दिँदै अध्यक्षद्वय ओली र प्रचण्डले विवाद सल्टाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय लिनुभएको थियो । कार्यदलमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहनुभएको छ । सो कार्यदलले आफ्नो काम थालिसकेको छ । नेकपाभित्र लामो समयदेखि दुई अध्यक्ष भिडाएर बिभाजनको योजनामा रहेको नेतात्रयको समुहले ओली र दाहालबीच कुनै भित्री सहमति बनिसकेको र त्यसपछि मात्र औपचारिकताका लागि कार्यदल गठन गरेको हुन सक्ने आशंका पनि गरेको छ ।
तीन नेता पार्टीभित्र बखेजा सिर्जना गर्न लागे पनि कार्यदलले भने शनिबार काम सुरु गरेको छ। पहिलो बैठक शनिबार महासचिव पौडेलकै भैसेपाटीस्थित निवासमा बस्यो। बैठकले कार्यदलले काम नसक्दासम्म सञ्चारमाध्यमलाई कुनै प्रतिक्रिया नदिने गरी आचारसंहिता बनाएको छ। पार्टीको आन्तरिक जीवनमा पैदा भएका समस्या तत्काल र दीर्घकालसम्म कसरी समाधान गर्ने, महाधिवेशनसम्म कसरी जाने, सरकार र पार्टीको कामलाई कसरी व्यवस्थित गर्ने, एकताको काम कसरी सक्ने भन्नेलगायतमा छलफल गरेर प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।
त्यसका अतिरिक्त जारी स्थायी समिति बैठकको एजेन्डामा साझा सहमतिका धारणा के बनाउने, १५२ जना केन्द्रीय सदस्यले माग गरेको केन्द्रीय समिति बैठकबारे के गर्नेजस्ता विषयमा पनि सहमतिको प्रस्ताव ल्याउने गरी दुई अध्यक्षले काम दिएका छन्। बढीमा एक साताभित्र काम सक्ने गरी शनिवार कार्यदलले काम सुरु गरेको हो। शनिबार आचारसंहिता बनाउनेदेखि आन्तरिक पार्टी जीवनका समस्यामा केन्द्रित रहेर विषय प्रवेश गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्