तनहुँ, साउन ३२ । तनहुँको व्यास नगरपालिका १ भादगाउँ रतौली टोलमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण देखिएको छ । केही दिनअघि वृद्धा आमाको उपचारका क्रममा पोखरामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि परिवारका सदस्यमा गरिएको परीक्षणका क्रममा थप पाँच जनामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा प्रहरी दम्पत्तिसहित रहेका छन । चिकित्सकहरुका अनुसार संक्रमित पति जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत रहेको र केही दिनअघि घर आएका थिए । उनकी पत्नी भने जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत छिन । प्रहरीकी आमामा संक्रमण देखिएपछि घरका चार र आफन्त तथा सवारी चालकसहित आठ जनाले पोखरा गएर स्वाब दिएका थिए । उनीहरु चारै जनामा पोजेटिभ देखिएको चालक, बिरामी वृद्धाका अरु छोरा बुहारी र आफन्तको भने रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरुमा संक्रमण कार्यालयबाटै फैलियो कि भन्ने विषयमा अनुसन्धान भइरहेको स्वास्थ्य अधिकारीको भनाइ छ । महिला प्रहरी कार्यरत तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ । संक्रमित पारिवारिक सदस्यको सम्पर्कमा आएकी महिला प्रहरीमा संक्रमण हुन सक्ने अनुमानका आधारमै प्रहरीलाई बेग्लै राखेर स्वाब संकलन गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार भादगाउँ रतौली टोलका संक्रमितका पारिवारिक सदस्य घरमै बेग्लै बसेका छन् । थप संक्रमण फैलन नदिनका लागि आफूहरुले टोल सिल गर्ने वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्