जनता टाइम्स

३२ श्रावण २०७७, आईतवार १७:३६

प्रदेश १ पनि कोरोनाको उच्च जाखिममा : विराटनगरका ८६ सहित थपिए १०३ जना संक्रमित (सूचीसहित)


मोरङ, साउन ३२ । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन । बिराटनगर महानगरपालिकामा पछिल्लो २४ घण्टामा ८६ जना नयाँ संक्रमित फेलापरेका हुन । योसँगै प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा आज अहिलेसम्मकै धेरै संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन । महानगरमा पहिलो पटक एकै दिन ८६ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको महानगरमा यो संख्या एकै दिन भेटिएको अहिलेसम्मकै उच्च हो ।

विराटनगरमा ८६ जनासँगै प्रदेश १ मा आज एक सय तीन जना नयाँ संक्रमित थपिएका हुन । थपिएकमा ६९ पुरुष र ३४ महिला रहेका छन । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताकाअनुसार मोरङमा ९२, खोटाङमा छ, सुनसरीमा दुई, इलाममा एक र प्रदेश १ बाहिरका दुई जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

विराटनगर महानगरमा भेटिएका ८६ संक्रमितमध्ये ५४ पुरुष र ३२ महिला रहेका छन । विराटनगरमा मात्रै हालसम्म संक्रमित संख्या पाँच सय ६६ पुगेको छ । मन्त्रालयका अनुसार मोरङको बूढीगंगामा तीन, धनपालथानमा दुई र कटहरीमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा छ पुरुष, सुनसरीको इटहरीमा एक पुरुष, दुहवीमा एक महिला, इलामको देउमाइमा एक पुरुष, बाराका एक पुरुष र सिरहाकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्यांकसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार १० पुगेको छ । पछिल्लो समय प्रदेश १ मा संक्रमित संख्या बढन थालेका छन ।