जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १४:५७

कोरोना संक्रमितलाई भेदभाव नगरी सहयोग गर्न आग्रह


गण्डकी, भदौ ८

पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका सचेतक एवं दलका नेता रामराज लामिछानेले कोरोना संक्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै आपतविपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै मानवीयताको भावनाका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग अरुका लागि पनि आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाबाट संक्रमित हुने र निको हुनेक्रम निरन्तर चलिरहेको भन्दै उहाँले यसका नाममा टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख गर्नुभयो । विश्वमा ठूलो पदधारण गरेका व्यक्ति पनि संक्रमित भई निको भएर घर फर्केको उल्लेख गर्दै उहाँले यसले ठूलो वा सानो केही नभन्ने हुँदा घरमा सुरक्षित रुपमा बस्न पनि सबैमा अनुरोध गर्नुभयो ।