जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १२:०६

संसदमा गृहमन्त्रीको खुलासा : विप्लवले जनसेना बनायो


काठमाडौं

गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जन सरकार र जनसेना बनाएको खुलासा गर्नुभएको छ । काठमाडौंमा आइतवार भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिने क्रममा जरुरी सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री थापाले विप्लव भन्‍ने समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएको बताउनु भयो ।

‘विप्लवले जन सरकार गठन गरिसकेका छन्। जनसेनाका ४ कम्पनी खडा गरेका छन्’, उहाले भन्नुभयो, ‘उनीहरूको मूल निशाना उपत्यका बनेको छ। हिजो पनि उपत्यकामा ठाउँठाउँमा विस्फोट भए ।’ उहाले हिजो काठमाडौंमा आइतवार भएका घटनामा ज्यान गुमाएकाहरुको नागरिकता नभएकाले उनीहरु विप्लव समूहका नै भएको दाबी गर्नुभयो ।