जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १८:३२

निर्धारित समय सम्पन्न भयो टीकापुर खानेपानी आयोजना, उदघाटन गर्दै मन्त्री मगरको आयो यस्तो अठोट


टीकापुर, जेठ १३

कैलालीको जिल्लास्थित टीकापुर खानेपानी आयोजना सम्पन्न भएको छ । एसियाली विकास बैंकको त्रृण सहयोगमा संचालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानीमन्त्री बिना मगरले उदघाटन गर्नुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर खानेपानी आयोजनाबाट ५५ हजार ७ सय ५० जनसंख्या लाभान्वित हुनेछन भने ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् । उक्त आयोजनाको काम निर्धारित समय २ वर्षभित्रै सम्पन्न भएको हो ।

आयोजनाको उदघाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देश भरका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको बताउनुभयो । उहाँले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार गम्भीर रहेकोे स्पष्ट पार्नु भयो । जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्याउने र ढल व्यवस्थापन गर्ने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मगरको भनाइ छ ।

विभागका महानिर्देशक सुनिलकुमार दासले आधारभूत खानेपानीको पहुँच पुर्याउने कार्यमा उपभोक्ता समितिहरुसंग सधैं सहकार्य गर्न विभाग तयार रहेको बताउनुभयो ।