जनता टाइम्स

१३ जेष्ठ २०७६, सोमबार १८:४८

पैतीस हजार घुससहित समातिए सीप विकास तालिम केन्द्र झापाका प्रमुख र नासु


झापा, जेठ १३

आफू कार्यरत कार्यालयकै प्रशिक्षक कर्मचारीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले झापामा दुई कर्मचारीलाई घुससहित आफ्नो नियन्त्रणमा लिएको हो ।

सोमबार दिउँसो अख्तियारको टोलीले भद्रपुर ८ स्थित व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत नायव सुब्बा राजकुमार धिमाल र केन्द्रका प्रमुख सुमेन्द्र मण्डललाई नियन्त्रणमा लिइएको जनाएको छ । नायव सुब्बा धिमालले तालिम प्रशिक्षक कर्मचारीबाटै ३५ हजार घुस लिएको रकमसहित रंगेहात कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्यितार क्षेत्रीय कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्की जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रले सञ्चालन गर्ने विभिन्न तालिमका लागि प्रशिक्षार्थीबाट प्रमुख र नासुले रकम माग गरेको सूचनाका आधारमा अख्तियारले छापा मार्दा उनीहरु पक्राउ परेका हुन । विद्युत जडानसम्बन्धित तालिम कार्यक्रमका लागि आएको १ लाख बजेट मध्येबाट ३५ हजार घुस प्रशिक्षकबाट नायव सुब्बा धिमालले लिएको र सो घटनामा प्रमुखको पनि मिलेमतो हुनसक्ने भएकाले धिमालसहित प्रमुख मण्डललाई नियन्त्रणमा लिएको कार्कीको भनाई छ ।

प्रहरी निरीक्षक कार्कीसहितको पाँचजनाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इटहरी लगेको छ । घुस रकमसहित रंगेहात फेला परेका नायव सुब्बा धिमालले आफूले घुस नलिएको तर, प्रशिक्षक कर्मचारीले फसाएको दावी गरेका छन । ’केन्द्रकै तालिम प्रशिक्षक (कर्मचारी) दीर्घ धिमालले ३५ हजार रकम मलाई ल्याएर राख्न दिएको हो, सो रकम तालिममा सहभागी विद्यार्थीलाई बाँड्ने भत्ता हो,’ अख्तियारको नियन्त्रणमा परेपछि आरोपित धिमालको भनाई थियो ।