जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार ०८:१०

यसरी समातिए पुजारी हत्या गर्ने दुई अभियुक्त


रौतहट,भदौ १८ । रौतहटको माधवनारायण नपा २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटको देवाहि गोना नगरपालिका १ करुनियाका ३६ वर्षीय नरेश पटेल र २८ वर्षीय बालकुमार पटेललाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो।

दुई नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनीहरुलाई बुधवार बिहान १० बजे रौतहटको बौधिमाइ नगरपालिका( ७ बाट पक्राउ गरेको बताइएको छ। प्रहरीका अनुसार राम नरेश पटेलले कटुवा पेस्तोलले गोली प्रहार गरेको र बाल कुमारले बाटोमा बसेर मानिसको आवतजावत हेरेको प्रहरीले जनाएको छ।

राम नरेशले पुजारीसँग व्याजमा पैसा लिएको त्यस विषयमा विवाद रहेको, मन्दिर नजिकै रक्सि पसल रहेको रक्सी सेवन गरी उनीहरुले विवाद गर्ने गरेको, मन्दिरको धारामा हात धुने विषयमा विवाद भएको, गाउँमा विभिन्न बिषयमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गरेकोले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनामा संलग्न अन्य फरार रहेको खोजी भइरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरु माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको छ।

रौतहटको माधवनारायण नपा २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी साहको भदौ ३ गते राति गोली हानी हत्या भएको थियो।राति करिव ९ बजे खाना खाइरहेको अवस्थामा साहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो। प्रहरीले बुधबार बिहान १० बजे बोधिमाई नपाको बंकुलबाट उनीहरुलाई पक्राउ गरेको जनाएपनि केहिदिन अघि भारतको बिहारबाट भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरी नेपाल ल्याएको स्रोतले जनाएको छ ।

पुजारीका हत्यारोको खोजीमा प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंह आफै सक्रिय रुपमा लाग्नुभएको थियो भने सवै जिल्ला प्रहरी प्रमुखलाई अलर्ट गराउनु भएको थियो ।