जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार ०८:३०

ढोरपाटनमा बाढी पहिरो अपडेट : चार जनाको शव भेटियो, १३ जना बेपत्ता, ३० घर बगायो


बाग्लुङ, भदौ १८ । बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । गएराति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० घर बगाएको हो ।

ढोरपाटनका स्थानीय जीवन पुनले दिनुभएको जानकारीअनुसार बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ । ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ । यस्तै बाढीले सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालयसमेत बगाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । ‘रातिमा बाढी आएकाले ठुलो क्षति भएको पाइएको छ, घटनास्थलको दुरी र क्षेत्र निकै लामो भएकाले पनि समस्या भएको छ,’ डिएसपी रेग्मीले भन्नुभयो, ‘अहिले थप सुरक्षाकर्मीसहित घाइतेहरुको उद्धार, बेपत्ता भएकाहरुको खोजी सुरु गरिसकेका छौ ।’ उहाँले बाढी र पहिरोमा परी बेपक्ता भएकामध्ये चार जनाको शव फेला परेको जानकारी दिनुभयो ।