जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १६:१०

अख्तियारले पत्र काटेपछि अत्तालिएका विचौलिया विजय मिश्रको विज्ञप्ती मै कयौं झुट (भिडियोसहित)


काठमाडौं, भदौ १८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँगको टेप प्रकरणमा जोडिएका विचौलिया विजयप्रकाश मिश्रलाई सात दिने पत्र काटेपछि उनि उत्तालिएका छन् । अख्तियारले गोरखापत्र मै सार्वजनिक सूचना निकालेको छ ।

गोरखापत्रमा सुचना निकालेपछि मिश्रले एक विज्ञप्ती निकालेर आफु नभागेको बरु डिभाइस लिन जापान आएको जानकारी गराएका छन् । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेत विषयको अनुसन्धानका सिलसिलामा तपाईंसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ ।

मिश्रको पहिलो झुट

मिश्रले भदौ २ गते एउटा विज्ञप्ती जारी गरेका छन् । उनको विज्ञप्तीमै मिति गलत रहेको छ । नेपाली अंकमा अंग्रेजी मिति लेखिएको छ । २०२०।०१।०२ उल्लेख गरेर विज्ञप्ती निकालेका छन् । सेप्टेम्बरमा विज्ञप्ती निकालेको हो भने नेपालीमा लेख्दा ०९ हुनुपर्ने हो, ०१ भएको ठाँउमा । तर, उनले अंग्रेजीमा लेख्न खोजेका होलान महिना चाही । यो विषय के हो प्रिन्टिङ प्रेसका कथित विज्ञ मिश्र आफैलाई थाहा होला । विज्ञ भएपछि त नेपाली र अंग्रेजीमा एक र नौ लेख्न पनि आउनु पर्ने होला । यो आफ्नो बौद्धिक हैसियतको कुरा हो ।

तर, उनको झुट यसमा होइन । अर्को विषयमा छ । मिश्रले जारी गरेको विज्ञप्तीमा आफु र अख्तियारका अनुसन्धान अधिकृतबीच बारम्बार कुराकानी भईरहेको भ्रम सिधै उल्लेख गरेका छन् । विज्ञप्तीमा उनले भनेका छन्, ‘अख्तियारीप्राप्त अनुसन्धान अधिकृत र मेरोबीचमा बेलाबेलामा कुराकानी भएको र मैले दर्ता गरेको निवेदनबाट यो कुरा प्रष्ट हुन्छ । …हाल यस प्रकरण हेर्ने अधिकृत सरुवा भई नयाँ अनुसन्धान अधिकृतको पदस्थापना भएको कुरा पत्रपत्रिकाबाट मैले जानकारी पाएको हुँ । मलाई आशा छ उहाहरुले मलाई सम्पर्क गर्नुहुने छ वा म आफैंले पनि उहाँहरुसँग सम्पर्क गरि यस राजनीतिक खोल ओढेको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानविनलाई आवश्यक सहयोग गर्ने नै छु ।’

यसमा के झुट बोले होला त मिश्रले ? बडो प्रष्ट छ । अख्तियारले मिश्रलाई कतै पनि सम्पर्क गर्न नसकेपछि राष्ट्रिय पत्रिकामा सूचना निकाल्यो । जसरी बैंकले कुनै पनि सामान लिलाम गर्नुपरेमा सो सामानका धनिलाई जानकारी दिन यस्तै सूचना निकाल्छ । त्यसैगरी अख्तियारले पनि सूचना निकाल्यो । जसरी बालुवाटारको जग्गा काण्डमा मुछिएका व्यक्ति सम्पर्कमा नआएपछि सुचना निकालेको थियो । मान्छे भेटेर वा सम्पर्क भईरहेर काम गर्दैछु भनेर जनतालाई देखाउन मात्र अख्तियारले सूचना निकालेको पक्कै होइन् होला । मिश्रलाई पटक पटक सम्पर्क गर्दा र उनको ठेगानामा पत्र पठाउदा पनि कुनै जवाफ नआएपछि पत्रिकामा सूचना नै निकाल्नु परेको अख्तियारस्रोतले जानकारी दिएको छ ।

यो विषय उठ्छ भनेर मिश्रले विज्ञप्तीमा थोरै चलाखी अपनाउन खोजेका छन् । उनले भनेका छन् कि यो प्रकरण हेर्ने अधिकृत सरुवा भई नयाँ आएका रहेछन्, त्यो पनि पत्रिका पढेर थाहा पाए भनेका छन् । स्मरण रहोस्, अख्तियार वा प्रहरीको कुनै पनि अनुसन्धान अधिकृत सरुवा हुँदा वा जागिर छोडेर जाँदा अन्तिम बखतसम्म गरेका सबै कामका सूचना अर्को अधिकृतलाई हस्तान्तरण गरेरमात्र जान्छन् । यति ठुलो मुद्दामा ति अधिकृतले सरुवा भई आएका अधिकृतलाई मिश्रको विषयमा कुनै जानकारी नै दिएनन भनेर कसरी पत्याउनु ?

दोस्रो झुट

दुई पृष्ठ लामो विज्ञप्तीमा उनले आफु भागेको विषयमा भन्दा पनि उनलाई रिस उठेका व्यक्तिलाई गाली गर्नमै विताएका छन् । मानिस हो रिस उठेपछि गर्ने गाली नै हो । त्यो भन्दा विचारा मिश्रसँग अरु के नै छ र । तर, हाम्रो मुद्दा त्यो होइन ।

मिश्रले विज्ञप्तीमा भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चलानी नं. ८२२९ को आवश्यक सहयोगको लागि भनी अनुरोध गरिएको पत्र मेरो हात परेको कुरामा दुईमत छैन । त्यसै पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ ।’ मिश्रकै विज्ञप्ती अनुसार गोरखापत्रमा सूचना सार्वजनिक हुनुभन्दा अगाडी नै उपस्थित हुन भनेर अख्तियारको पत्र उनलाई प्राप्त भईसकेको रहेछ ।

अख्तियारको पत्र प्राप्त गरेको भए उनि म डिभाइस लिन जापान जान्छु भनि सामान्य जानकारी पनि नगराई किन उनि जापान भागे ? यहा ‘भागे’ शब्द किन प्रयोग गरियो भने अख्तियारबाट उपस्थित हुन पत्र आएपछि जानकारी गराएर गएको भए भागे भन्न मिल्दैन थियो । तर, यता अख्तियार उनलाई खोज्दै पत्रिकामा सूचना निकाल्ने उनि कसैलाई थाहा नै नदिई डिभाइस लिन गएको भनेर जापानमै आनन्दले बसेपछि भागे नभनेर के शब्द प्रयोग गर्ने ।

अर्को कुरा उनले विज्ञप्तीमा आफु जापान कहिले आएको र कुन मितिमा फर्कने समेत उल्लेख गरेका छैन् । कोरोनाका कारण चैत्रको पहिलो सातादेखि अन्तराष्ट्रिय हवाई उडान बन्द छ । उनलाई यो विषय बाहाना बन्न सक्छ । तर, यहा बिर्सनै नहुने एउटा कुरा छ, यो बीचमा पनि नेपाल एयरलाइन्स र केही अन्तराष्ट्रिय विमानले जापान–नेपाल उडान गरेका छन् । सकेको भए त्यस बखत पनि उनि पनि सोही विमानमा आउन सक्थ्ये । तर, आफुलाई भ्रष्टचारविरोधी अभियान्ता बनाउने मिश्र ७० करोडको काण्ड छाडेर जापानमै आनन्दसँग मोजमस्ती गरे । सायद अब कहिले आउछन् त्यो उनि वा यो समुहमा आवद्धलाई थाहा होला । यद्यपी विज्ञप्तीमा उनले आफु चाडै नेपाल आउने र फ्लाइट निश्चित भईसकेको बताएका छन् ।

तेस्रो ठुलो झुट

मिश्रले विज्ञप्तीमा आफु रेकर्डिङ डिभाइस लिन जापान आएको उल्लेख गरेका छन् । त्यो डिभाइस के हो उनले खुलाएका छैनन् । तर, उनले नै दिएको एक अन्तर्वार्तामा सो अडियो रेकर्डिङ मोवाइलबाट गरेको सार्वजनिक रुपमा कबुल गरेका छन् ।

सुन्नुहोस् मिश्रले दिएको अन्तर्वार्ताको यो अंश

यहा उनले स्पष्ट शब्दमा भनेका छन् । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई भेट्नु अगाडी एक व्यक्तिको फोटो लिनका लागि भिडियो रेकर्डिङ गरिरहेको थिए । त्यही बेलामा बाँस्कोटाले भित्र बोलाउनु भयो, मैले सो डिभाइस गोजीमा हालेर गए । संयोगवस रेकर्डिङ भएछ । तर, मैले यो कुरा करिव डेढ महिनापछि मात्रै थाहा पाए ।

अब उनले अख्तियारमा बुझाउनुपर्ने कुरा के छ भने त्यो व्यक्तिसहितको भिडियो र सो भिडियो रेकर्डिङ गरेको मोवाइल । उनले अन्तर्वार्तामा के समेत भनेका छन् भने फोन ह्याङ हुन्छ भनेर डिलिट गर्दै जाँदा भिडियो भेटिएको र सो भिडियो आफुले सेभ गरेर राखेको बताएका छन् । अब उनले अख्तियारमा पेन ड्राइभमा भएको अडियो मात्र बुझाउछन् कि भिडियो रेकर्डिङ गरेको त्यो मोबाइल बुझाउनछन् केही दिनमा प्रष्ट होला । जसबाट उनको नियत स्पष्ट रुपमा बाहिर आउनेछ ।

आफैसँग भएको मोवाइल फोन लिन उनि कि जापान गए त ? यो प्रश्न आफैमा बडो अचम्मित र शंकास्पद छ । मिश्रको उक्त कुराले सार्वजनिक लेखा समितिका सदस्य भने चकित भएका छन् । ‘हामीलाई आफ्नै मोबाइलबाट अडियो सुनाएका थिए। छुट्टै रेकर्डिङ डिभाइस लिन जापान गएको भन्ने कुरा पत्यार लागेन,’ लेखा समितिका एक सदस्यले भने ।

विभिन्न सञ्चारमाध्यम र सांसदहरूलाई मोबाइलबाटै अडियो ट्रान्सफर गरेर मिश्रले पठाएका थिए । मिश्रले पेन ड्राइभमा पनि अडियो राखेर खल्तीमा बोकेको देखिएको एक सांसदले बताउनु भयो । ‘जापानमा डिभाइस लिन गएको भन्ने कुरा बहाना हुन सक्छ,’ लेखाका ती सदस्यले भने । मिश्र आफू सेक्युरिटी प्रिन्टिङ प्रेसको विज्ञ भन्दै लेखा समितिमा पनि प्रस्तुत भएका थिए । तर केही सांसदले उनको योग्यता र विज्ञतामाथि प्रश्न गरेपछि समितिमा हल्लाखल्ली मच्चिएको थियो ।