रौतहट, भदौ १८ । थुनामा रहेका प्रहरीलाई यातना दिइएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविराज खडकाको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रमुख खडकाकै निर्देशनमा थुनुवालाई यातना दिइएको तथ्य खुलेसँगै जिल्लाबाट जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालयमा तानी अनुसन्धान अघि बढाइएको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतले इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख खडकाको जिम्मेवारी खोसिएको बताएको छ । ती अधिकृतका अनुसार एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो । खडकाको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको थियो । यो तथ्यसँगै प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ । निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए । उनीहरुले एसपी खडकाकै निर्देशनमा यतना दिएको प्रधान कार्यालय स्रोतले बतायो ।
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेएको छ । महतोको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ । गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय रामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनको प्रहरी हिरासतमै चरम यातनाका कारण मृत्यु भएको थियो । १९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन । स्थानीयबासीले रौतहटका प्रहरी प्रमुख खडकाकै निर्देशनमा सो घटना भएको बताउँदै आएका छन । यातनामा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरीको संलग्नताले पनि खडकाको संलग्नता देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्