जनता टाइम्स

२० भाद्र २०७७, शनिबार ११:१०

भौतिक मन्त्री नेम्वाङको आयो कोरोना परीक्षण रिपोर्ट


काठमाडौं, भदौ २०

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मन्त्रालयका उच्च अधिकारीमा कोरोना संक्रमण देखिएपछि मन्त्री नेम्वाङको शुक्रबार परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

मन्त्री नेम्वाङका प्रेस संयोजक सन्दिप राईकाअनुसार मन्त्रीको परीक्षण रिपोर्ट शुक्रबार साँझ नै आएको हो । मन्त्रालयका अन्य कर्मचारी, सुरक्षाकर्मी र सचिवालयका सदस्यहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको संयोजक राईले जानकारी दिनुभयो । उहाँहरुको रिपोर्ट आज साँझसम्म आउने जानकारी गराउनुभयो ।

मन्त्री नेम्वाङ गत बुधबारदेखि होम क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो । कोरोना संक्रमित मन्त्रालयका उच्च अधिकारीको एउटा निजी अस्पतालमा उपचार भइरहेको छ । होम क्वारेन्टाइनमा बसेका कारण मन्त्री नेम्वाङ शुक्रबारको मन्त्रि परिषद बैठकमा पनि सहभागी हुन पाउनु भएन ।