जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १४:३२

कांग्रेस नेताकै घरमा किशोरीलाई बन्धक बनाएर भयो यति निकृष्ट हर्कत, यसरी खुल्यो पोल


सिन्धुपाल्चोक, भदौ २० । राजनीतिक रुपमा प्रतिवाद गर्न नसकेपछि एक अवोध ‘किशोरीको’ प्रयोग गरेर नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई ‘बलात्कार’ केशमा फसाउने प्रयास असफल भएको छ ।

१७ वर्षीया एक तामाङ किशोरीलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको घरमा एक घण्टासम्म बन्धक बनाएर आर्थिक प्रलोभन देखाउँदै बलात्कार गर्न खोजेको भन्दै प्रहरीमा उजुरी गर्न दबाब दिएका थिए । ती किशोरीले नै आफू यस्तो गलत काaममा नलाग्ने बताएपछि कांग्रेस कार्यर्ताहरुको किशोरी प्रयोग गरेर मेयर शेर्पालाई फसाउने प्रयास असफल भएको हो । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन र बाढीपहिरोबाट विस्थापितहरुको पुनस्थापनामा निरन्तर लागिरेहका मेयर शेर्पाको जनप्रिय कामबाट अत्तालिएका कांग्रेसका स्थानीय नेताहरुले अन्य कुनै घटनाबाट पनि मेयर शेर्पालाई फसाउन नसकेपछि ‘महिला अस्त्र’ प्रयोग गर्न खोजेका थिए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत नगरपालिकाका कर्मचारी र क्रसर उद्योगमा गएर तोडफोड गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएपछि उनी अहिले फरार छन् ।

क्षेत्रीय सभापति बस्नेत, नेपाली कांग्रेसका स्थानीय नेता युधिर पौडेल र हेमन्त श्रेष्ठको डिजाइनमा किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आफ्नो विरुद्ध प्रयोग गर्न खोजेको मेयर शेर्पाले जानकारी दिनुभयो । मेयर शेर्पाविरुद्ध तयार पारेको किशोरी तयार नभएपछि बिहीबार नगरपालिकामा आएकी नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतकी श्रीमती ठाइली भनिने ङबुटी शेर्पाले आफुहरुको गल्ती भएको भन्दै मेयर शेर्पा समक्ष माफी माग्नुभएको थियो । युधिर र हेमन्तले सिकाएले आफुले ती किशोरीलाई यस्तो गर्न आग्रह गरेको आफू समक्ष बताएको मेयर शेर्पाले जानकारी दिनुभयो । ‘मसँग माफी माग्न आउनु भएको थियो, मैले यस्तो अक्षम्य गल्तीमा माफी दिन सक्दिन भन्दै पठाई दिएँ’, जनताटाइम्ससँग मेयर शेर्पाले भन्नुभयो ।

बाह्रविसेको स्थानीय चण्डेश्वरी होटल नजिकै रहेको सभापति बस्नेतको घरमा १७ वर्षीया तामाङ थरकी किशोरीलाई स्थानीय कांग्रेस कार्यकर्ताहरु हेमन्त श्रेष्ठ र युधिर पौडेलले लगेका थिए । किशोरीका अनुसार त्यहाँ लगेर उनीहरु दुवैले सिकाए अनुसार बस्नेतको श्रीमती शेर्पाले पहिला ‘१० लाख दिन्छौं, मेयर शेर्पाले रेप गर्न खोज्यो भनेर प्रहरीमा उजुरी दिनु, पैसा नपुगे फेरी दिन्छौं’  भनेका थिए । ‘म एक्लै थिए, एक घण्टा सम्म राखे, म एकदमै डराएँ, कोही थिएनन, के भन्ने ? मैले सोच्नै सकिन,’ ति किशोरीले भनिन, ‘मलाई मेयर अंकलले केही गर्नु भएको छैन, हामीलाई एकदमै सम्मान गर्नुहुन्छ, यस्तो मान्छेविरुद्ध म उजुरी दिन्न भनेर भने,’ ती किशोरीले भनिन । बस्नेतको घरमा आफुलाई मनोवैज्ञानिक हिसाबले टचर दिएको समेत किशोरीले बताएकी छन् । (किशोरीको आवाज जनताटाइम्ससँग सुरक्षित छ ।)

महिला अस्त्र असफल भएपछि अहिले कांग्रेसका नतोहरुबीच आरोप प्रत्यारोप समेत सुरु भएको छ । अरनिको कलेजका स्ववियु सभापति समेत रहेका ‘हेमन्त श्रेष्ठको डिजाइनमा यो सबै भयो, अहिले मलाई नै समस्या हुने भयो’ भन्दै युधिर पौडेल नै हिड्ने गरेको स्थानीयले बताएका छन् । केही समय अघि कांग्रेसका यही उश्रृङखल जत्थाले बाह्रविसे नगरपालिकामा आइफोन बोक्ने महिला कर्मचारीविरुद्ध पनि सामाजिक सञ्जालमा अश्लिलता प्रर्दशन गरेका मेयर शेर्पाले बताउनु भयो ।

‘आइफोन बोक्ने सबै महिला कर्मचारीहरुको हुर्मत लिने प्रयास त्यती पनि बेला पनि भएको थियो, हामी सहेर नै बसेका थियौं, अहिले त यस्तो सून्दा पनि घृणा लाग्ने हर्कत सुरु गरेछन,’ शेर्पाले भन्नुभयो । यसैबीच बाह्रविसे तामाङ समाजले विज्ञप्ति प्रकाशित गर्दै एक तामाङ किशोरीलाई ललाईफकाई आर्थिक प्रलोभनमा पारेर मेयरविरुद्ध रचिएको षडयन्त्रको डटेर सामना गर्ने जनाएको छ । समाजका अध्यक्ष युद्धविक्रम तामाङ (डिबी) ले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न आफुहरुको समुदायको किशोरीलाई प्रयोग गरेको घटनाप्रति कडा शब्दमा निन्दा गर्दै दोषीलाई कारवाही गर्न आग्रह गरेको छ ।

किन फसाउन खोजे मेयर शेर्पालाई ?

बाह्रविसे नगरपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको गृह गाउँ हो । बाह्रविसेमा कांग्रेसका बाहेक अरु दलका नेता कार्यकर्ताहरुले शिर ठाडो बनाएर हिड्न नसक्नेसम्मको अवस्था थियो । हरेक निर्वाचनमा कांग्रेसले चुनाव जित्दै आएपनि गएको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेका उम्मेद्वार निमफुञ्जो शेर्पाले चुनाव जितेपछि कांग्रेस अत्तालिएको छ । आफ्नै गृह गाउँमा पराजीत भएपछि कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई नराम्रो धक्का लागेको थियो ।

स्थानीय चुनावमा मेयर, उपमेयर र केही वडा अध्यक्षहरु एमालेबाट निर्वाचित भएपनि नगर कार्यपालिकामा कांग्रेसको वहुमत सदस्य छ । वहुमत भएपछि बस्नेतको निर्देशनमा नगरपालिकामा मेयर शेर्पालाई पटक पटक असफल बनाउन खोजेपनि त्यो सफल भएको थिएन । मेयर शेर्पाको विरुद्ध कांग्रेसले आन्दोलन समेत गरेपनि शेर्पालाई गलाउन नसकेपछि गलाउने उपायको खोजीमा कांग्रेस लागेको बाह्रविसेका नेकपाका एक नेताले जानकारी दिए । आर्थिक मामलामा एकदमै क्लिएर शेर्पालाई केही महिनाअघि विपत्तीमा खरिद गरिएको त्रिपालमा फसाउन खोजेपनि त्यो पनि सफल भएन । अन्य केही उपायबाट शेर्पालाई गलाउन नसकेपछि महिला अस्त्र प्रयोग गर्न खोजिएको हो ।