जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १३:२८

एसिडपीडित मुस्कानमा योगेशले फर्काएको त्यो खुसी


काठमाडौं, भदौ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले एसिडपीडित युवती मुस्कान खातुनलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा मुस्कान खातुनलाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री भट्टराईले हरेक बर्ष आफ्नो जन्मदिनमा असाहाय तथा पीडितहरुलाई सहयोग गर्दै आउनु भएको छ । यस बर्ष उहाँले सानै उमेरमा एसिड आक्रमणको सिकार भएकी मुस्कानलाई चयन गर्नुभएको हो । आफ्नो जन्मदिनमा मन्त्री भट्टराईले रकम हस्तान्तरण मात्रै गर्नुभएन, डाक्टर बन्ने सपना पूरा गर्न आफू लागि पर्ने प्रतिवद्धता जनाएर मुस्कारको मुहारमा चमक थपिदिनभयो । उहाँले बहिनी तपाईको डाक्टर बन्ने इच्छा पूरा हुन्छ भन्दा अनुहारमा देखिएको चमकले मनैदेखिके खुसी दर्साएको थियो ।

मन्त्री भट्टराईका अनुसार केही समयअघि खातुनलाई भेटेपछि नै सहयोग गर्ने इच्छा पलाएको थियो । गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग उहाँको भेट भयो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मन्त्री भट्टराईले जानकारी पाउनु भएको थियो । हायातको कार्यक्रममा मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो ।

जब मञ्चमा भट्टराईले मुस्कानलाई सम्मान गर्ने मौका पाउनु भयो, उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिनुभएको थियो । सोही बचनअनुसार आज जन्मदिन तिनै मुस्कान र उहाँ जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहनुभयो । उहाँको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु, सहयोगपछि मन्त्री भट्टराईले भन्नुभयो । केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । यो प्रस्ंगसमेत जोडदै मन्त्री भट्टराईले भन्नुभयो, ‘मुस्कानलाई डाक्टर बन्ने इच्छा छ, बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पूरा हुनेछ ।’ मन्त्री भट्टराईले जन्मदिनमा दिएको सहयोग र प्रतिवद्धताबाट मुस्कान निकै उत्साहित हुनुभएको छ ।

गत वर्षको भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते उनको अहिले पनि उपचार भईरहेको छ । कक्षा ९ मा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर आफूले थोरै भएपनि सहयोग गरेको मन्त्री भट्टराईले बताउनुभएको छ ।

२०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आउनुभएको छ । यसअघि पनि भूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गर्नुभएका मन्त्री भट्टराइले २०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पढनपाठनको व्यवस्था मिलाउनुभएको थियो ।

०७४ को जन्मदिनमा मुटुको दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पिडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गर्नुभएको उहाँले ०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्च स्वरुप नगद सहयोग गर्नुभएको थियो । त्यस्तै गत वर्षको जन्मदिनमा उहाँले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहिन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गर्नुभएको थियो ।