जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १९:२३

मलको हाहाकार बनाउने ठेकेदारबिरुद्ध कृषिमन्त्री भुसालको एक्शन : ठेक्का संझौता रद्ध, धरौटी जफत


काठमाडौं, भदौ २१ । सरकारले समयमै मल आयात नगर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डका घरभेटीको शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता रद्द गरेको छ । तोकिएको समयभित्र मल आयात नगरेपछि कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालयले आज मल आयोतको जिम्मा पाएको दुवै कम्पनीको ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो ।

ती कम्पनीसँग भदौ २० गतेसम्म मल आयत गरिसक्नु पर्ने संझौता रहेको थियो । ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो । कृषिमन्त्री घनश्याम भुसालले केही दिनअघि नै भदौं २० गतेसम्म पर्खने भन्दै त्यसपछि कार्वाहीमा जाने बताउनु भएको थियो ।

सोही अडानअनुसार उहाँले आफ्नैपार्टीका अध्यक्षको घरभेटीसहित दुवै जनालाई कार्वाही गर्नुभएको हो । यो निर्णयअनुसार प्रचण्डका घरभेटी अधिकारी सञ्चालक रहेको शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक बर्ष २०७६/७७को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

कृषि मन्त्री भुसालले आज पत्रकार सम्मेलन नै गरी शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कृषि मन्त्री भुसालले हरेक पेट्रोलियम प्रदार्थ सरह विभिन्न मुलुकसँग सम्झैता गरेर मल आयात गर्नेगरी छलफल भइरहेकको जानकारी पनि दिनुभयो ।

‘करिब ४ महिनाभित्र गर्न सक्छौं भन्ने लागेको छ, सम्झैता भए दशकौं देखिको मलको समस्या समाधान हुन्छ,’ मन्त्री भुसालले भन्नुभयो । दुवै कम्पनीमाथि कार्वाहीसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखानाको सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।