जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार २२:१३

नीजि क्षेत्रसँग प्रधानमन्त्री : कोरोना नियन्त्रण र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सरकार प्रयत्नशील छ


काठमाडौं, भदौं २१ । प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रणसँगै अर्थतन्त्रलाई चलायमान बनाउँदै अघि बढने बिषयमा निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्श लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीले नीजि क्षेत्रसँग सुझाव लिनुभएको हो ।

उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका तर्फबाट सुझावहरू प्रस्तुत गर्नुभएको थियो । सुझावका क्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गर्नुभयो । बैठकमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र संबोधनको बारेमा स्पष्ट गर्नुभएको थियो ।

उद्योगी ब्यवसायीहरुको सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण नियन्त्रण र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सरकार प्रयत्नशील रहेको जानकारी दिनुभयो । ‘कोरोना विरूद्दको लडाई साझा हो। यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ,’ प्रधानमन्त्री तथा अर्थमन्त्री प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो । आफ्नो संबोधनका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्नुहुँदै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गर्नुभयो । उहाँले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गर्नुभयो ।

कोभिड १९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि प्रधानमन्त्री ओलीले निर्देशित दिनुभयो । उहाँले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै हुँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आग्रह गर्नुभयो । प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यसमेत राख्नुभयो ।

तस्विर : राजन काफ्ले, प्रधानमन्त्रीको नीजि सचिवालय

सो क्रममा उहाँले काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि उहाँले स्पष्ट पार्नुभयो । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्नुभयो । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।

कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले विशेष जोड दिनुभयो ।प्रधानमन्त्री र नीजि क्षेत्रका अगुवाबीच करिब अढाई घण्टासम्म छलफल भएको थियो ।