काठमाडौं, भदौ २२
सामाजिक सञ्जालमा कोरोना संक्रमणका बारेमा अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
आफूलाई प्राकृतिक चिकित्सक बताउने लिम्बुलाई प्रहरीले ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई पक्राउ गरेको जानकारी दिएको छ ।
लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो । उनको दाबीमा कुनै प्रमाण नरहेको र समाजलाई भ्रमित बनाउने काम गरेकाले कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्