जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार ११:२१

बहराइनको राजपरिवारको नेपाल घुम्ने मोह, आउदैछ यस्तो टोली


काठमाडौं, भदौ २२

बहराइनको राजपरिवार नेपाल घुम्न लालायित छ । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ ।

नेपालका राजदूत पदम सुन्दासले बहराइनका राजपरिवार र जनता नेपाल घुम्न उत्साहित रहेको बताउनुभयो । त्यसै क्रममा बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफासहितको समूह नेपाल आउने अन्तिम तयारीमा छ । नेपाल सरकारले उहाँको भ्रमणको स्वीकृति दिइसकेको छ ।

राजदूत सुन्दासले बहराइनका राजकुमार नासिर नेपालको ट्रेकिङमा आउने कुरा टुङ्गो लागिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले बहराइनका राजकुमार आउने प्रस्ताव सहर्ष स्वीकार गरेको छ । उहाँहरूको पासपोर्ट दूतावासमा आउने क्रममा छ । यहाँ आएपछि हामी मन्त्रालयमा पठाउँछौँ । ” त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्नेछ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नुहुने छ । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसक्नुभएको नेपाली दूतावासले जनाएको छ ।

कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपविार र जनस्तरमा राम्रो परेको छ, राजदूत सुन्दासले बताउनुभयो । उहाँका अनुसार नेपालका १० उत्कृष्ट पर्यटकीय स्थलको वृतचित्र बहराइनमा प्रदर्शन गरेपछि नेपालप्रति चासो बढेको हो । राजदूत सुन्दासका अनुसार पहिलो समूहमा राजकुमार आफैँ नभई दरबारका सदस्यहरू (शाहज्यादा) आउनु हुनेछ । दोस्रो समूहमा मात्र राजकुमार आउनुुहुने छ । उहाँहरूको दुई वर्षको भ्रमण तालिका छ ।

पहिलो वर्ष मनास्लु र लोबुचे हिमालको आरोहण हुनेछ । सन् २०२१ मा सगरमाथा आरोहण गर्ने तालिका रहेको सुन्दासले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बहराइनका नागरिक युरोप र अमेरिका जाने चलन छ तर यहाँ नेपाल चिनाएपछि राजपरिवार र जनता नेपालप्रति आकर्षित भएका छन् । यो भ्रमण र हिमाल आरोहण सफल भए नेपालको पर्यटनमा ठूलो प्रभाव पर्ने मैले आशा लिएको छु । बढीभन्दा बढी पर्यटक नेपाल पठाउने र नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने काममा मेरो प्रयत्न भइरहेको छ । ”

नेपाल र बहराइनको दौत्य सम्बन्ध बलियो बनाउन योजनाबद्ध काम गरेको उहाँले जानकारी दिनुभयो । राजदूत सुन्दासका अनुसार नेपाल र बहराइनको पार्लियामेन्ट्री फ्रेन्डसिप ग्रुप बनाउने काम अन्तिम चरणको पुगेको छ । त्यस्तै नेपाल र बहराइनको मन्त्रीस्तरीय उच्च संयन्त्र निर्माणको सम्झौता अन्तिम चरणमा छ । हस्ताक्षर गर्न मात्र बाँकी छ । उहाँले भन्नुभयो, “कोरोनाको प्रभाव नभएको भए सम्झौता भइसक्थ्यो । ” बहराइनको जनसङ्ख्या १५ लाख रहेको छ, जसमा सात लाख बाहिरी मुलुकबाट गएर बसोबास गरेका छन् । बहराइनको वास्तविक जनसङ्ख्या आठ लाख रहेको छ । तेल र ग्यासको व्यापार नै बहराइनको मुख्य अर्थतन्त्र हो ।

श्रमिकको माग बढ्ने

कारोना सङ्क्रमणले बहराइनमा रहेका नेपालीलाई प्रभावित बनाएको छ । दूतावासका अनुसार हालसम्म ९८६ जना नेपाली नेपाल फर्किएका छन् । केही रोजगारी गुमाएका र केही छुट्टीमा नेपाल पठाइएको हो । करिब तीन सय फर्कने तयारीमा छन् ।

बहराइनमा करिब ४० हजार नेपाली छन् । तीमध्ये पाँच सयलाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये चार जना नेपालीको मृत्यु भएको छ । बाँकी सबै निको भएर काममा फर्किएका छन् । कम्पनीहरू बन्द भएका कारण करिब १५ सय नेपालीले रोजगारी गुमाएको दूतावासले जनाएको छ ।

बहराइनमा नेपाली श्रमिकको माग बढिरहेको छ । नेपालीको विश्वास र मिहिनेतका आधारमा बहराइनमा नेपालीलाई विश्वास गरिन्छ । उहाँले भन्नुभयो, “श्रमिकको डिमान्ड लिने कम्पनीले डिमान्ड खोल्न भनिरहेका छन् । नेपालीमा डिमान्ड छ यहाँ, अहिले श्रम मन्त्रालयले नयाँ श्रम स्वीकृत खुला गरेको छैन । खुला भएपछि ठूलो सङ्ख्यामा नेपाली आउने छन् । ” नयाँलाई भन्दा पनि छुट्टीमा गएकामध्ये दुई सय जनालाई छिटो फर्काउने काममा दूतावास रहेको छ ।

दूतावासका अनुसार कोरोनाको प्रभावले गर्दा श्रम गन्तव्य गुम्छ कि भन्ने त्रास थियो तर अहिले बहराइनको अवस्था सामान्यजस्तो भइसकेको छ । राजदूत सुन्दास भन्नुहुन्छ, “खाडी मुलुकलाई नेपालमा श्रमिककागन्तव्यका रूपमा मात्र हेरिन्छ तर अन्य आधारमा पनि सम्बन्ध बढाउनुपर्छ । ” (गोरखापत्र)