जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १४:५७

अझै पाएनन् उखु किसानले २४ करोड भुक्तानी


सर्लाही, भदौ २२

किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो ।

पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले दिएका छैनन् । पटकपटक संघर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन–चार वर्षदेखिको भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ । लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताउनुभयो ।

आफूहरु काठमाडौं गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उहाँको आरोप छ । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन् । उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन् ।

विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन हुन सकेन् । जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन–चार वर्षदेखिको करिब रु २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको छ ।