जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार २०:०९

जेल चलान भए कांग्रेसबाट निर्वाचित वडाध्यक्ष, यस्तो छ अपराध कथा


तनहुँ, भदौ २२ । तनहुको भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल जेल चलान भएका छन । मल्ललाई सोमबार नै प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।

अदालतले दोषी ठहर गरी सजाय सुनाए पनि शक्तिको आडमा बच्दै आएका मल्ललाई इलाका प्रहरी कार्यालय डुम्रेबाट गएको प्रहरी टोलीले घरबाट नै पक्राउ गरेको हो । मल्ल २०५४ सालमा साविक गजरकोट गाविस वडा नम्बर ४ (हाल घिरिङ गाउँपालिका) का अम्बरबहादुर थापाको छोरा राजु थापालाई भानुका होमबहादुर थापाको छोरा भन्ने झुटो विवरण बनाई नागरिकताको प्रमाणपत्र दिलाउन भुमिका खेलेको अभियोगमा दोषी ठहर भएका हुन ।

नागरिकताको किर्ते गरेको सोही मुद्धामा जिल्ला अदालतले मल्ललाई २०५५ बैशाख २० गते दोषी ठहर गरेको थियो । अदालतले मल्ललाई एक वर्ष कैद फैसला गरेको थियो । तत्कालिन जिल्ला न्यायाधीश उदयराज चापगाँईको इजलासले सो फैसला गरेको हो । अदालतको फैसला अनुसारको कैद भुक्तान नगरी मल्ल तत्कालिन अवस्थामा फरार रहेका थिए । धेरै वर्ष बिदेश बसेर मल्ल नेपाल फर्किई राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए ।

उनको सो मुद्धाको बारेमा धेरैलाई जानकारी नभएपछि त्यही मौकाको फाईदा उठाई मल्लले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्बारी दिएर बिजयी समेत भएका थिए । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा २४ वर्ष पुरानो मुद्धाका अभियुक्त वडाध्यक्ष मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोमबार नै अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार कार्यालय तनहँुमा पठाईएको छ ।

मल्ल गत बैशाख ११ गते भानु नपा–१ का २१ वर्षीय पविन गुरुङको हत्याको घटनामा पक्राउ परी अदालतको आदेशमा जेठ ८ गते ५० हजार धरौटीमा रिहा भएका थिए । सो मुद्धाको अहिलेसम्म फैसला भएको छैन ।

वडा अध्यक्षको पद धरापमा

यसैवीच नागरिकता किर्ते सम्बन्धि गम्भिर प्रकृतिको अपराधमा संलग्न भएको पुष्टि भएपछि वडा अध्यक्ष मल्लको पद धरापमा परेको छ । उक्त अभियोग फौजदारी प्रकृतिको भएको कारण उनको पद गुम्ने भएको छ । अधिवक्ता शिवदत्त ढकालले नागरिकता किर्ते सम्बन्धि मुद्धाको दोषी भएको कारण मल्लको वडा अध्यक्ष पद गुम्न सक्ने बताए ।

निर्वाचन सम्बन्धि कानुनमा पनि फौजदारी मुद्धामा सजाय पाएका व्यक्ति कुनै पनि निर्वाचन लड्न अयोग्य हुने व्यवस्था छ । तर मल्लको मुद्धाको बारेमा निर्वाचनको समयमा कसैलाई जानकारी नभएको कारण उनले निर्वाचन लडेर बिजयी हुने मौका पाए । निर्वाचनको क्रममा यो घटना भएको भए मल्लको उम्मेदबारी रद्ध हुने थियो । तर मल्लले कानुनलाई समेत छक्याउँदै करिब ३ वर्ष वडा अध्यक्षको पद सम्हाले । निर्वाचन सम्बन्धि कानुनमा भएको व्यवस्था अनुसार मल्ल अव भविष्यमा कुनै पनि निर्वाचन लड्न अयोग्य भने हुनेछन् ।