काठमाडौं, भदौ २३ । अव बैंक तथा वित्तीय संस्थाहरुले घर र गाडी कर्जामा कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर पनि परिवर्तन गर्न पाउने छैनन् । यसको अर्थ ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको सोही दर नै कर्जाको परिपक्वको अवधिभर लागू हुनेछ । बैंक तथा वित्तीय संस्थाले सुरुमा सस्तो दरमा कर्जा प्रवाह गर्ने तर, केही महिना भित्रैमा ब्याजदर बढाएर महँगो बनाउने प्रवृति बढेपछि राष्ट्र बैंकले यस्तो बाध्यात्मक व्यवस्था ल्याएको हो ।
‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ, यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा भने ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पाउने ब्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्