जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १४:५२

बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान पक्राउ


महेन्द्रनगर, भदौ २४

कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको बताउनुभयो ।

यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ । ‘किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो’, प्रवक्ता थापाले भन्नुभयो, ‘पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोही अनुसार अनुसन्धान अघि बढेको छ ।’

उहाँका अनुसार किशोरीले आफूलाई ५–६ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् । किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कृत भएकी युवतीको मेडिकल जाँचपछि सेफहाउसमा राखिएको छ ।