जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार १५:२२

कार्यदलको प्रतिवेदन कार्यान्वयनमा ओली–प्रचण्डबीच जुट्यो सहमति, यस्तो छ साझा सहमतिको प्रस्ताव


यसिमा महत/काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच बिवाद समाधान कार्यदलले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने बिषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलमा सो सहमति जुटेको हो ।

नेकपाको गत साउन १४ गतेदेखि स्थगित भएको स्थायी कमिटी बैठक आगामी शुक्रवार बस्दैछ । स्थायी कमिटी बैठक बस्नु दुई दिनअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच आज बिवाद समाधान कार्यदलको प्रतिवेदन कार्यान्वयनमा सहमति जुटेको हो । महासचिव बिष्णु पौडेल नेतृत्वको कार्यदलले सर्वसम्मत रुपमा बुझाएको सुझाव प्रतिवेदनका आधारमा अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिको प्रस्तावलाई अन्तिम रुप दिनुभएको हो । सहमतिको प्रस्ताव अव स्थायी कमिटी सदस्यहरुलाई अध्ययनका लागि पठाइने सचिवालयका एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो ।

आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको प्रस्तावमा छलफल हुनेछ । साउन ३ गतेको सचिवालय बैठकको निर्णयअनुसार प्रस्ताव तयार नभएपछि साउन १४ गतेको स्थायी कमिटी बैठक स्थगित भएपछि नेकपाभित्र बिवाद चुलिएपछि साउन ३० गते अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल र पम्फा भुसाल रहनुभएको थियो । सो कार्यदलले भदौ ६ गते विवाद समाधानका लागि सुझावसहितको आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनलाई सर्वसम्मत रुपमा स्वीकार गर्दै सचिवालय बैठकले स्थायी कमिटीमा प्रस्तावका रुपमा लैजाने निर्णयसहित प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो ।

भदौ १८ गते बसेको सचिवालय बैठकले कार्यदलको सुझाव कार्यान्वयनका लागि ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वयलाइ जिम्मेवारी दिएको हो । सो जिम्मेवारीअनुसार आज साझा प्रस्ताव तयार भएको हो । दुई अध्यक्षबीच सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको सहमति जुटेसँगै नेकपाभित्र उचालिएको बिवाद समाधानको अन्तिम बिन्दुमा पुगेको छ । स्थायी कमिटीले यो प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटी बैठक गरी बिवादलाई पुर्णबिराम लगाउने योजना अध्यक्षद्वयको छ । कार्यदलले आगामी असोजको तेस्रो साता केन्द्रीय कमिटी बैठक गरी बिवादको निरुपण गर्नुका साथै महाधिवेशनमार्फत बिवादको स्थायी समाधानको सुझाव दिएको छ ।

नेकपा प्रचार बिभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको छलफलमा अध्यक्षद्वयले साझा प्रतिवेदनलाई अन्तिम रुप दिनुभएको बताउनु भयो । अध्यक्षद्वयले अन्तिम रुप दिनुभएको साझा प्रतिवेदन अव स्थायी कमिटी बैठकमा छलफल हुने उहाँले जनताटाइम्सलाई बताउनु भयो । ‘अध्यक्षद्वयले साझा प्रतिवेदनको टुंगो लगाउनु भएको छ, अव स्थायी कमिटीमा छलफलका लागि प्रस्तुत हुनेछ,’ थापाले जनताटाइम्ससँग भन्नुभयो ।