काठमाडौं, भदौ २४
प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको जन्मस्थल, दुम्जा (सिन्धुली) र पुष्पलाल श्रेष्ठको जन्मस्थल, भँगेरी (रामेछाप)को संरक्षणमा चासो व्यक्त गर्नुभएको छ । उहाले विपी र श्रेष्ठको जन्मस्थानमा सरकारले निर्माण गर्ने स्मृति उद्यानको कार्यप्रगति र प्रस्तावित डिजाइनको बारेमा सविस्तार जानकारी लिनुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
संयोगवश बीपी कोइराला १०७ बर्षअघि आजकै दिन अर्थात् भदौ २४ दुम्जामा पुष्पलाल ९६ बर्षअघि असार १५ गते भँगेरीमा जन्मिनुभएको थियो । दुबै नेताका उल्लिखित जन्मस्थलहरूलाई विशेष रूपमा पूर्वाधार निर्माण गरी स्मरणीय गन्तव्य विकास गर्ने सरकारको कार्यक्रम रहेको छ । उहाँहरूले २००५ सालमा नेपाली काँग्रेस र २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो ।
क्वारेन्टिन तथा आइसोलेसन सेन्टर निर्माणमा समेत चासो
प्रधानमन्त्री ओलीले क्वारेन्टिन तथा आइसोलेसन सेन्टर निर्माणमा समेत चासो व्यक्त गर्नुभएको छ । निर्माणाधीन संघीय संसद भवन (सिंहदरबार), प्रधानमन्त्री निवास (बालुवाटार), मन्त्रि निवास (भैंसेपाटी), प्रदेश प्रमुख एवं मुख्यमन्त्री आवास (भैसेपाटी), ३ हजार सिट क्षमताको सभा हल (गोदावरी) र उपत्यकाभित्र तयार भइरहेका झण्डै ४ हजार बेड क्षमताका क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको निर्माण कार्यको प्रगति, इन्टेरियर डिजाइनलगायतको सम्बन्धमा पनि सम्बद्ध मन्त्री, सचिव र महानिर्देशकसहितको उपस्थितिमा कार्यप्रगतिको करिब तीन घण्टासम्म बिस्तारका साथ जानकारी गराइएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण निर्माण कार्यमा केही ढिलाइ भए पनि निरन्तर काम भइरहेको पनि अधिकारीहरूले प्रष्ट्याउनु भएको छ । साथै, सबै योजनाको बिस्तृत डिजाइनसमेत प्रधानमन्त्रीले अवलोकन गर्नुभई आवश्यक मार्गदर्शन गर्नुभएको थियो । प्रधानमन्त्रीले शहरी विकास मन्त्रालय अन्तर्गतका उल्लेखित निर्माण कार्य सम्पन्न भइसक्न लाग्ने समयको सम्बन्धमा जिज्ञासा राख्नुहुँदै कामको गति बढाउन पनि निर्देशित गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्