जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १७:२९

सर्वोच्चले गर्यो व्यापारी सुमार्गीको पक्षमा फैसला, रकम बैध भएको ठहर*


काठमाडौं ।

सर्वोच्च अदालतले कालो धनका विषयमा परेको मुद्धामा व्यापारी अजेयराज सुमार्गीको पक्षमा फैसला गरेको छ। नेपालमा सिमेन्ट उद्योगका लागि वैदेशिक लगानी भन्दै भित्र्याएको रकमसम्बन्धी विवादको मुद्दामा सर्वोच्चले परमादेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र बमकुमार श्रेष्ठको सयुक्त इजलासले सुमार्गीको पक्षमा फैसला सुनाएको छ । सुमार्गीको नाममा आएको श‌ंकास्पद वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा परमादेश जारी गरेको छ । यो फैसलापछि सुमार्गीको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) वैधानिक स्रोतबाट भित्रिएको ठहर हुनेछ। सर्वोच्चले मंगलबार गरेको यो फैसलापछि सुमार्गीले रकम चलाउन पाउनेछन्।

यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको रकम विवादमा सर्वोच्च अदालतले सुरुमा झिक्न दिनू भन्दै र पछि फर्काउनू भनी अन्तरिम आदेश गरेको थियो। तत्कालिन वरिष्ठ न्यायाधिश दिपकराज जोशीको इजलासले झिक्न आदेश दिएपनि पछि प्रधानन्यायाधिश राणाको इजलासले फर्काउनु भनि आदेश दिएको थियो ।

प्रधानन्यायाधीश राणाको इजलासमा उक्त मुद्दा चैत ४ गते पेशीमा चढेको थियो। तर, निर्णय सुनाउका लागि पेशी परे पनि सर्दै आएको थियो। यसअघि उक्त मुद्दाको दुई पटक फैसला मिति सरेको थियो। उक्त विवादमा सुनुवाइ समाप्त गर्दै चैत ४ मा निर्णय सुनाउने (निसु) को मिति तोकिएको थियो। उक्त मितिमा फैसला हुन नसकेपछि चैत २८ गतेलाई सरेको थियो। उक्त मितिमा पनि मुद्दाको फैसला सुनाउन नभ्याइएपछि बैसाख १५ गतेका लागि सारियो। उक्त दिन पनि अदालतकै तर्फबाट फैसला सारिएको थियो।