जनता टाइम्स

१४ जेष्ठ २०७६, मंगलवार १८:२८

ओली सरकारले दियो कामबाटै जवाफ : मेची–महाकाली विद्युतीय रेलमार्गमा देखियो यस्तो प्रगति


काठमाडौं, जेठ १४

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्गको ९३.६ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणअनुसार बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको हो ।

यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । यस्तै काठमाडौं उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो–नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । यसैगरी खोकना–सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको राससले जनाएको छ ।

चीन सरकारको सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पनि सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ । यस्तै भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ ।

मेची–महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी रहेको छ । लिंकमार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।